काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका नेताबीच आज साँझ वार्ता हुँदैछ। राजपाका नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा साँझ साढे ७ बजे प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न लागेका हुन्।
राजपाका एक नेताका अनुसार प्रधानमन्त्री ओलीसँगको भेटमा संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ र सरकारमा सहभागी हुने विषय र नीति तथा कार्यक्रमका विषयमा छलफल हुनेछ।
यसैबीच, राजपाले सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएको छ।
अध्यक्ष मण्डलको बैठकले सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गराउने निर्णय गरे लगत्तै राजपाले संसद् सचिवालय पुगी नीति तथा कार्यक्रममा संसोधन दर्ता गराएको हो।
राजपाले सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनको मूलभूत मुद्दा सम्बोधन नभएको भन्दै संशोधन दर्ता गराएको जनाएको छ। त्यसैगरी राजपाले 'विभिन्न समयका आन्दोलनमा सहिद भएकाहरुका आश्रित परिवारलाई सरकारले भरणपोषणको व्यवस्था गरिनेछ' भन्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गरिनुपर्ने बताएको छ।
राजपा अध्यक्ष मण्डलका नेता अनिलकुमार झाले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुनुपर्ने भएकाले अध्यक्ष मण्डलको बैठक जेठ १४ सम्मका लागि स्थगित भएको जानकारी गराए।
सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय 8वादी फोरम नेपालले पनि संसोधन दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।