काठमाडौं– ३८ सय केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्व डिआइजीसहित २८ जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको छ। मोरङ जिल्ला अदालतले थुनछेक आदेश गर्दै पक्राउ परेका २ बाहेक अरुलाई जेल चलानको आदेश गरेको हो।
पक्राउ परेकामध्ये प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार तथा हवल्दार अमरबहादुर थापालाई साधारण तारेखमा रिहा गर्ने र अन्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला अदालतले जनाएको छ। जिल्ला अदालतका न्यायायाधीश नारायणप्रसाद शर्माको इजलासले यस्तो आदेश दिएको हो।
मंगलबार पक्राउ परेका सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेती 'गोरे'को भने बुधबारदेखि अलग्गै बयान सुरु गर्ने तयारी जिल्ला अदालतले गरेको छ।
को को जेल चलान भए ?
जेल चलान हुनेमा ६ जना पूर्व प्रहरी अधिकारी छन्।
पूर्व डिआइजी गोविन्द निरौलासहित ६ प्रहरी अधिकारी समेत जेल चलान भएका छन्। एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र प्रजित केसी तथा सई बालकृष्ण सञ्जेललाई जेल चलानको आदेश भएको हो।
त्यस्तै, तस्करीमा संलग्नहरु टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की, माधव भनिने मदनप्रसाद घिमिरे, लाक्पा शेर्पा, चाचाजी उपनामका महावीरप्रसाद गोल्यान, राजन थापा, हेमन्त गौतम, समीरप्रसाद तोलाङ्गे, कपिलराज पुरी, बालकृष्ण श्रेष्ठ, राजेन्द्रकुमार शाक्य, दोराम खत्री, एलबी भनिने लालबहादुर मगर, तक्ले भनिने पुण्यप्रसाद लामा तामाङ, चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, गोपालकुमार श्रेष्ठ, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार पनि जेल चलान भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।