काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पद धारण गरेका राष्ट्रसेवकले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको विषयमा अनुसन्धान तथ्यपरक र प्रभावकारी बनाउन आफ्नो नियमावली संशोधन गरेको छ।
आयोगमा प्राप्त हुने उजुरीमाथिको छानबिन तथा अनुसन्धान कार्यमा एकरुपता कायम गरी अनुसन्धानलाई वैज्ञानिक, विश्वसनीय, पारदर्शी, तथ्यपरक एवं थप प्रभावकारी बनाउने उद्देश्यले नियमावली परिवर्तन गरिएको अख्तियारले जनाएको छ।
अहिले रहेको 'सम्पत्तिको मूल्यांकन तथा अनुसन्धान सम्बन्धी कार्य निर्देशिका २०७०' लाई समयानुकूल परिमार्जन गरी ‘गैरकानुनी सम्पत्ति छानबिन तथा अनुसन्धान कार्यविधि २०७५’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको अख्तियारले जनाएको छ। नियमावलीको पुरानो व्यवस्थाले कतिपय उजुरीहरुको अनुसन्धान गर्न समस्या भएकाले नयाँ परिस्थिति अनुसार काम गर्न नियमावली संशोधन गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।