इंग्ल्यान्ड– रसियामा हुने विश्वकप फुटबलमा इंग्ल्यान्डको कप्तानी स्ट्राइकर ह्यारी केनले गर्ने भएका छन्। इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका म्यानेजर गारेथ साउथगेटले विश्वकपमा इंग्ल्यान्डको टोली २४ वर्षीय केनको नेतृत्वमा रहने बताएका हुन्।
इंग्लिस क्लव टोटनह्याम हट्स्परबाट क्लब फुटबल खेल्दै आएका केनले यस सिजनका सबै खेलहरुमा कुल ४१ गोल गरेका थिए। टोटनह्यामले इंग्लिस प्रिमियर लिगको यस सिजनमा तेस्रो स्थानमा रहँदै लिग सकाएको छ।
यसअघि क्रमश: टोटनह्यामका फुटबलर इरिक डायर र लिभरपुलका मिडफिल्डर जोर्डन ह्यान्डर्सनले इंग्ल्यान्ड टोलीको कप्तानी सम्हालेका थिए।
सोमबार राती सेन्ट जर्जस् पार्कमा इंग्ल्यान्ड फुटबल टोलीको बैठकमा म्यानेजर साउथगेटले भने,‘ह्यारीसँग गज्जवका व्यक्तिगत खुबीहरु छन्।’
केनले गतवर्ष स्कटल्यान्डमा भएको विश्वकप छनोटमा पहिलोपटक इंग्ल्यान्डको कप्तानी सम्हालेका थिए। ‘विश्वकपका लागि म एकदमै उत्साहित छु। म रसिया पुग्न र विश्वकपको अनुभव लिन आफुलाई रोक्न सकिरहेको छैन।’, केनले भने,‘इंग्ल्यान्डको कप्तानी गर्न पाउनु मेरा लागि विशेष हुनेछ।’
केनले हालसम्म इंग्ल्यान्डको जर्सीबाट २३ खेल खेल्दै १२ गोल गरेका छन्।
विश्वकपको तयारीका लागि भन्दै इंग्ल्यान्डले आगामि जुन २ मा वेम्ब्ली स्टेडियममा नाइजेरियासँग र जुन ७ मा कोस्टिारिकासँग खेल्नेछ। विश्वकपका लागि टोली जुन १२ मा रसियाका लागि प्रस्थान गर्नेछ। उसले विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जुन १२ मा ट्युनिसियाको सामना गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।