वासिङ्टन– अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहार्याउने भएको छ। इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो।
तर हालै मात्र अमेरिकाले इरानसँगको उक्त पारमाणविक सम्झौता रद्द गरेसँगै पुराना प्रतिबन्धहरु पुनः लगाउने भएको बताइएको हो।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाले इरानसँगको पारमाणविक सम्झौता रद्द गरेपछि यसअघि फुकुवा गरेका सबै प्रतिबन्धहरू पुनः लगाइने तथा इरानले नयाँ आर्थिक प्रतिबन्धको पनि सामना गर्नुपर्ने बताएका थिए।
अमेरिकाको हालैको उक्त कदमअन्तर्गत इरानी सत्तामाथि नयाँ खालको र एक शक्तिशाली आर्थिक दबाब पनि सिर्जना गर्न सकिने विदेशमन्त्री पोम्पेओले संकेत दिएका थिए।
अमेरिकाको यस कदमको युरोपेली संघ तथा सन् २०१५ मा इरानसँग पारमाणविक सम्झौता गरेका विश्वका केही शक्ति राष्ट्रहरुले पनि विरोध गरेका छन्।
युरोपेली युनियनको विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीकाले अमेरिकाको यस कदमको आलोचना गर्दै यसबाट युरोप र मध्यपूर्वी देशहरुमा पनि असर पर्नसक्ने बताएकी छिन्।
उनले भनिन्,‘इरानसँगको सन् २०१५ को पारमाणविक सम्झौताबाट अमेरिका मात्र एक्लै बाहिरिँदा मध्यपूर्वको सुरक्षाको बारेमा पनि सोच्नुपर्नेमा त्यसो हुन नसकेकोले यसबारे ध्यान दिनु जरुरी छ।’
सन् २०१५ भन्दा अघिका अमेरिकी प्रतिबन्धले इरानसँगको सवै व्यापारमा रोक लगाएको थियो। अब त्यसमा झनै कडाइ गरिने बताइएको छ।
इरानको कडा आपत्ति
यसैबीच इरानमाथि अमेरिकाले घोषणा गरेको नयाँ प्रतिबन्धको इरानले कडा शब्दमा विरोध गरेको छ। उसले तेहरानविरूद्ध अमेरिकाले इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध लगाउने भन्ने अमेरिकी विदेशमन्त्रीको भनाइको निन्दा गरेको समाचारमा जनाइएको छ।
इरानका राष्ट्रपति हसन रूहानीले इरान र विश्वका लागि पनि अमेरिकाको कदम घातक भएको टिप्पणी गरेका छन्। उनले अमेरिकाले लगाएको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन विपरीत भएको पनि बताए।
इरानी विदेशमन्त्री जवाद जारिफले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले घोषणा गरेको कदम अमेरिकाको असफल नीतिको परिणाम भएको बताएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।