काठमाडौं- शनम शाक्य हत्या प्रकरणसँगै खुलेको ३८ सय केजी सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रती गोरेलाई आज प्रहरीले सार्वजनिक गरेको छ। गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरिएको हो। गोरेलाई सार्वजनिक गरेलगत्तै मोरङ जिल्ला अदालतमा पेश गर्न पठाइने भएको छ।
गोरेबाट सुन तस्करीका थप रहस्य खुलेको गृह मन्त्रालयका छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले बताए। छानबिन समितिको म्याद पनि थप भएकाले गोरेको बयान र थप अनुसन्धानपछि तस्करीका अन्य रहस्य सार्वजनिक गरिने पौडेलले पत्रकार सम्मेलनमा जनाए।
उनले आज बिहान साढे ५ बजे काठमाडौंको गौरीघाटबाट गोरेलाई पक्राउ गरिएको जानकारी दिए। यद्यपि प्रहरी स्रोतले यसअघि गोरेलाई भारतबाट पक्राउ गरेर ल्याइएको जनाएको थियो।
उनको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएको थियो। विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएका थिए।
गत माघ ९ मा विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा गोरेले करेन्ट लगाएर शनम शाक्यको हत्या गरेको अभियोग लागेको। शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो। सो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये ८ जना प्रहरी अधिकारी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।