काठमाडौं– मोरङ जिल्ला अदालतमा सुनुवाइ भइरहेको ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा सरकारी वकिलहरुले जवाफी बहस सुरु गरेका छन्।
आरोपितका कानुन व्यवसायीले बहस सकेलगत्तै सरकारी पक्षले जवाफी बहस थालेको हो। सरकारी वकिलहरुको बहस समाप्त भएलगत्तै जिल्ला अदालतले थुनछेक आदेश सुनाउनेछ। आरोपितका कानुन व्यवसायीहरुले बहस लम्ब्याउँदै लगेपछि न्यायाधीशले हस्तक्षेप गर्दै छिटो सक्न समय तोकेका थिए।
जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बैसाख २७ गतेदेखि बहस सुरु भएको मुद्दा लगातार सुनुवाइ हुँदै आएको छ।
बुधबारसम्म थुनछेक आदेश गर्ने तयारीमा जिल्ला न्यायाधीश शर्मा रहेकाले सरकारी वकिलसँग बहसका क्रममा उठेका प्रश्नहरुको मात्र जवाफ मागिरहेका छन्।
सुरुमा ४ जना सरकारी वकिलले बहस गरेका थिए। उनीहरुको बहसपछि गत आइतबारदेखि पक्षका कानुन व्यवसायीले बहस थालेका थिए। करिब एक सयमध्ये ६० जनाभन्दा धेरै कानुन व्यवसायीले अभियुक्तका तर्फबाट बहस गरेको जिल्ला अदातलले जनाएको छ।
३० जना प्रतिवादीहरुको तर्फबाट एक सय कानुन व्यवसायीहरुले बहसका लागि नाम लेखाएका थिए। पहिलो दिन सुन तस्करी र हत्या प्रकरणमा जिल्ला अदालतमा बहसका लागि १० वरिष्ठ अधिवक्ता र अधिवक्ता गरी ८० जनाले नाम लेखाएका थिए। पहिलो दिन गत आइतबार राजधानीबाट गएका वरिष्ठ अधिवक्ताहरुलाई पालो दिइएको थियो। सोमबार र मंगलबार २५ जना अधिवक्ताले आफ्नो पक्षको बचाउमा बहस गरेका थिए।
प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो। उनीहरुविरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो।
मुद्दामा प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विपक्षी रहेका छन्।
मिलेमतोमा सुन तस्करी गर्ने चूडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दाबी अभियोगपत्रमा गरिएको छ। सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।
मुख्य अभियुक्त गोरेलाई पक्राउ गरी आजै सार्वजनिक गर्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।