राजविराज– सप्तरीको राजविराज नगरपालिका ६ स्थित पुरनी पोखरी टोलकी दलित बालिका काजलकुमार सदा गत बैसाख १४ गते कक्षा १ मा भर्ना भइन्। प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले संरक्षकत्व ग्रहण गर्दै सोही वडाको आधारभूत विद्यालय केन्द्र नं ३ मा उनलाई विद्यालय भर्ना गराए।
काजलसँगै वडा नं ६ का फूलकुमारी सदा, सुनिताकुमारी सदा र विनिताकुमारी सदा पनि सोही दिन सोही विद्यालयमा भर्ना भए। जिल्लामा सञ्चालित भर्ना अभियान अन्तर्गत राजविराज नगरपालिकाकी उपमेयर साधना झाले फूलकुमारी, शिक्षा विकास तथा समन्वय इकाइका संयोजक दोलराज पाण्डेले सुनिता र वडाध्यक्ष प्रेमकुमार यादवले विनिताको संरक्षकत्व ग्रहण गरे।
उत्साहका साथ बालिकाहरु भर्ना भएको ७ दिन नपुग्दै वडा नं ७ स्थित रमेशनारायण दास आदर्श विद्यालयले ती सबै बालिका आफ्ना विद्यार्थी भएको भन्दै विद्यालयमा गुनासो गर्यो। ‘हामीले एक वर्षअघि नै भर्ना गराएका बालबालिकालाई लगेर नयाँ भर्ना गराइएछ,’ रमेशनारायण दास आदर्श विद्यालयका एक शिक्षकले भने, ‘मुसहर बस्तीमा हामीले महिनौं दिन लगाएर सम्झाइबुझाइ ल्याएका विद्यार्थी चर्चा बटुल्नकै लागि मात्रै विद्यालय सार्ने काम भयो।’
केन्द्र नं ३ को विद्यालयले ४ जना विद्यार्थी लाँदा आफनो विद्यालयका करिब २० जना दलित विद्यार्थी प्रभावित भएको र विद्यालय आउन छोडेको उनले बताए। ‘गाउँको नाइके विद्यार्थीका रुपमा रहेका बालबालिका निस्किएपछि झन्डै २ दर्जन विद्यार्थी विद्यालय आउन छोडे,’ उनले थपे, ‘ती बालबालिका अहिले न यो विद्यालयमा छन्, न त त्यो विद्यालयमा।’
दुई विद्यालयबीच विद्यार्थी तानातानको यो विषय अन्त्यमा शिक्षा विकास तथा समन्वय इकाइसम्म पुग्यो। विवादको विषयमा बुझ्दै जाँदा आधारभूत विद्यालय केन्द्र नं ३ मा आयोजित भर्ना अभियानको कार्यक्रम सकाउने हतारोमा एउटा विद्यालयमा पढ्दै गरेका बालबालिकालाई नै अर्को विद्यालयमा भर्ना गरिएको खुलेको छ।
‘सहयोगी कार्यकर्ता उर्मिला कुमारी दासले चारै जना विद्यार्थी हालसम्म विद्यालय नगएको भन्दै ल्याएपछि कार्यक्रममार्फत भर्ना गरियो,’ केन्द्र नं ३ का प्रअ यदुनन्दन दासले भने, ‘पछि बुझ्दै जाँदा अर्को विद्यालयका विद्यार्थी रहेछन्, हामीवाट ठूलो गल्ती भयो।’
कार्यक्रम गर्ने हतारोमा सबै कुरा बुझ्न नपाएको भन्दै उनले साबिकको विद्यालयसँग समन्वय गरी समस्या हल गर्ने पहल भइरहेको बताए। तर, प्रअ दासले समस्या समाधानको कुरा गरिरहँदा भर्ना भएका चारै जना बालिका अहिले उक्त विद्यालय आउन छोडेका छन्। चारमध्ये काजलकुमारी सदा राजविराज १६ स्थित नरेन्द्र मेमोरियल जनता माद्यमिक विद्यालय बोरियमा भर्ना भएकी छिन् भने अन्य बालिका अर्को विद्यालय सरेको वा विद्यालय जानै छोडेको विषयमा तीनवटै विद्यालयसहित शिक्षा विकास तथा समन्वय इकाइ पनि अनभिज्ञ छ।
समन्वय इकाइका संयोजक पाण्डे भन्छन्, ‘विद्यार्थीले विद्यालय फेरेको विषयभन्दा पनि विद्यालयमा उनीहरुको नियमितता प्रमुख कुरा हो, त्यो विषयमा मैले विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिएको छु।’
राजविराज मात्र होइन, भर्ना अभियानका नाममा सप्तरीका अन्य धेरै ठाउँमा एउटा विद्यालयका बालबालिका अर्को विद्यालयमा सार्ने काम गरिएको स्थानीयहरुले गुनासो गरेका छन्। झोला, किताब, कपडा र छात्रावृत्ति पाउने भएपछि निम्न आयस्तर भएका परिवार छोराछोरी अर्को विद्यालयमा सार्न तयार हुने र त्यसैको फाइदा उठाएर अभियानकर्ताहरुले विद्यालयको पहुँचमै रहेका बालबालिकालाई दोहोर्याएर विद्यालय भर्ना गराएको जानकारहरु बताउँछन्।
उनीहरुका अनुसार अहिले पनि विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकाको संख्या सप्तरीमा पर्याप्त छ। तर, यस वर्ष विद्यालय भर्ना भएका र बाहिर रहेका बालबालिकाको संख्या यकिन हुन सकेको छैन। शिक्षा विकास तथा समन्वय इकाइका संयोजक पाण्डे भन्छन्, ‘तथ्यांक संकलन भइरहेको छ, १/२ दिनभित्रै सार्वजनिक गर्छौं।’ उनका अनुसार विद्यालय भर्ना अभियान सुरु हुनुअघि सप्तरीमा कूल १३ हजार ४३४ बालबालिका विद्यालयबाहिर थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।