धनगढी– सोमबार साँझ ४ बजेदेखि प्रदेश ७ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रत्यक्ष रुपमा जनताका गुनासा सुन्न र सम्बोधन गर्न ‘हेल्लो सीएम’ कार्यक्रम सुरु भयो। कार्यक्रममा पहिलो कल गरे हाल धनगढीमा बस्दै आएका डोटीको शिखर नगरपालिका–२ का करनजंग शाहीले।
उनले धनगढीमा अस्तव्यस्त अवस्थामा रहेको ट्राफिक व्यवस्थापनबारे मुख्यमन्त्रीसंग गुनासो गर्दे भने,‘मुख्यमन्त्रीज्यू नमस्कार, प्रदेशको अस्थायी राजधानी धनगढीमा ट्राफिक व्यवस्थापन नभएर साह्रै समस्या छ। कहिले समाधान गर्नुहुन्छ?’
आफैले फोन उठाउँदै मुख्यमन्त्री त्रिलोचन भट्टले जवाफ दिए, ‘तपाईंलाई धन्यवाद। म यो समस्या छिटो समाधानका लागि ट्राफिक कार्यालयलाई निर्देशन दिने छु।’
मुख्यमन्त्री भट्टसँगै प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, कैलालीका प्रमुख जिल्ला अधिकारी, कर्मचारीहरू तथा ठूलो संख्यामा सञ्चारकर्मीहरूको उपस्थितिमा सुरु भएको ‘हेल्लो सीएम’ कार्यक्रममा प्राप्त पहिलो गुनासोको सम्बोधनका लागि मुख्यमन्त्रीको कार्यालयले तत्काल कैलाली जिल्ला ट्राफिक कार्यालयलाई सूचना गरेको छ।
मुख्यमन्त्री कार्यालयका प्रवक्ता विशनसिंह थापाले सञ्चारकर्मीहरूलाई जानकारी दिए–,‘हामीले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई यो समस्या समाधान गर्न निर्देशन गरेका छौं।’
शाहीले ‘हेल्लो सीएम’ कार्यक्रममा कमजोर ट्राफिक व्यवस्थापनबारे गरेको गुनासो आम धनगढीवासीको चासोको विषय हो। तीव्र रूपमा शहरीकरण भइरहेको धनगढीमा सडकका दुवै किनारा अतिक्रमण गरेर मनलाग्दी ढंगबाट राखिएका ठेला, टहरा, अव्यवस्थित पार्किङ, ट्राफिक नियमको उलङ्घन, ठाउँ–ठाउँमा भत्किएका तथा साँघुरा सडकका साथै प्रतिदिन थपिने सवारी साधनका कारण धनगढीमा ट्राफिक व्यवस्थापन कठिन बन्दै गएको छ।
प्रदेशका मुख्यमन्त्री भट्टले ‘जनगुनासो तथा सुझाव दिने’ विषय लेखिएको होर्डिङ बोर्ड छोपेको पर्दा हटाएर तथा जनताका तर्फबाट आएको पहिलो गुनासो सुनेर ‘हेल्लो सीएम’ कार्यक्रमको शुभारम्भ गरेका थिए।
मुख्यमन्त्री भट्टले ‘हेल्लो सीएम’ कार्यक्रममा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्न मातहातका मन्त्रालय तथा कार्यालयहरुलाई निर्देशन दिएका थिए। ‘अहिले दुर्गम क्षेत्रका जनताले विभिन्न समस्या भोगिरहेका छन् तर गुनासो गर्ने ठाउँ‘ पाएका छैनन् भने कतिपय गुनासो गरेपनि सम्बोधन नहुने भनेर निराश हुन्छन्।’ उनले भने, ‘हामीले यो जनतालाई सिधै सरकारसँग जोड्ने प्रयासले कार्यक्रम ल्याएका हौँ। त्यसैले यसमा आएका गुनासो प्राथमिकताका साथ सम्बोधन हुनुपर्छ।’
उनले कार्यालयले यो कार्यक्रम सुरुवात गरेको तर, सफल सबैको सहयोगबाट मात्र हुने जिकिर गरे।
प्रदेश सरकार गठन भएको ३ महिना पुगेको अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले १६६०–९१५२७२३ नम्बरको पैसा नलाग्ने टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको हो।
प्रदेशका कोही पनि नागरिकले फोन, एसएमएस तथा फ्याक्स गरेर आफनो समस्या, गुनासो तथा सुझाव प्रदेश सरकारलाई दिन सक्ने गरी व्यवस्था मिलाइएको छ। मुख्यमन्त्रीको कार्यालयले सञ्चालनमा ल्याएको सो सेवा हरेक दिन बिहान ७ बजेदेखि सॉझ ७ बजेसम्म सञ्चालन हुने छ।
प्रदेश प्रमुख सचिव लक्ष्मीराम पौडेलले भने,‘हामीले २४सैं घण्टा यो सेवा सञ्चालन गर्ने उद्देश्य लिएका छौँ, तर विविध कारणले अहिले बिहान ७ देखि सॉझ ७ बजेसम्म मात्र सञ्चालन हुने छ।’ प्रमुख सचिव पौडेलले बिस्तारै जनताको गुनासोको संख्या अनुसार सेवा प्रवाहको समयावधि बढाउँदै लगेर २४सैं घण्टा सञ्चालन गर्ने अवस्थामा पुर्याउने बताए।
‘हेल्लो सीएम’ कार्यक्रममा दुर्घटना, विपद्सम्बन्धी घटना र उद्दार, प्रदेशस्थित सार्वजनिक निकायले वितरण गर्ने सेवा सुविधामा भेदभाव गरिएको वा वञ्चित गरिएको, सार्वजनिक निकायबाट प्रदान गरिने सेवा सुविधा प्राप्त गर्न अवरोध वा बाधा पुगेको, गैह्रकानुनी क्रियाकलाप वा त्यस्तो कार्यबाट कुनै व्यक्तिलाई हानी नोक्सानी भएको, संविधान र प्रचलित कानुन प्रदत्त हक अधिकारको उपयोगमा बाधा, अवरोध वा विभेद गरिएमा, भ्रष्टाचारजन्य तथा महिला हिंसा वा अन्य लैगिंक हिंसा सम्बन्धी क्रियाकलाप गरेको लगायतका विषयमा गुनासो टिपाउन सकिनेछ।
प्रदेशका प्रमुख सचिव पौडेलले भने,‘हेलो सिएममा आएको जनताका गुनासोलाई आवश्यकता अनुसार जरुरी गुनासोलाई ४ घण्टाभित्र र सामान्य गुनासालाई बढीमा एक हप्ताभित्र सम्बोधन गर्ने व्यवस्था मिलाएका छौं।’
उनले गुनासा सम्बोधनका लागि कार्यविधि बनिसकेको बताए। उनले भने,‘हरेक गुनासोको ढिलोचाँडो सम्बोधन हुन्छ। हामीलाई तपाईंहरुको समस्या, गुनासो, सुझाव आवश्यक रहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।