कराकस– भेनेजुयलाको राष्ट्रपतिमा निकोलस मडुरो आगामी ६ वर्षका लागि अनुमोदित भएका छन्।
भेनेजुयलाका निर्वाचन अधिकारीले भने,‘निर्वाचनमा मडुरोले ६८ प्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएको छ।’ पूर्वसैनिक अधिकारीसमेत रहेका उनका निकटतम प्रतिद्वन्द्वी हेनरी फालकनले २१ प्रतिशत मत प्राप्त गरेका निर्वाचन आयोगको कार्यालयले जनाएको छ।
‘हामीले फेरि निर्वाचनमा अत्यधिक सफलता पाएका छौँ। हामी इतिहासमा लगातार रूपमा अत्यधिक जनमत प्राप्त गर्ने राजनीतिक शक्ति ठहरिन पुगेका छौँ।,’ शानदार विजयपछि विजय उत्सव मनाउन भेला भएका समर्थकलाई सम्बोधन गर्ने क्रममा मडुरोले बताए।
यद्यपि भेनेजुयलाको इतिहासमा निर्वाचनमा अनुपस्थित रहनेको दर सबैभन्दा धेरै ५२ प्रतिशत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। निर्वाचनमा भेनेजुयलाको प्रमुख विपक्षी दलहरूको गठबन्धन, डेमोक्रेटिक यूनिटी राउण्डटेबलले मतदानलाई सत्ताधारी दलको तमासा भन्दै बहिस्कार गरेको थियो।
यसैबीच निर्वाचनबाट आगामी ६ वर्षका लागि राष्ट्रपतिमा अनुमोदित भएपनि मडुरोमाथि दवाव सिर्जना गर्दै लिमा समूहका अर्जेन्टिना, ब्राजिल, क्यानडासहित विभिन्न १४ मुलुकले आफ्ना राजदूतहरूलाई भेनेजुयलाबाट फिर्ता बोलाएका छन्। निर्वाचनलाई उनीहरूले अवैधानिक भन्दै मान्यता नदिने घोषणा गरेका छन्। अमेरिका, क्यानडा, यूरोपेली यूनियन र करिब एक दर्जन ल्याटिन अमेरिकी मुलुकले पनि निर्वाचनलाई मान्यता नदिने बताएका छन्।
ल्याटिन अमेरिकामा भेनेजुयलालाई लिमा समूहका मुलुकले एक्लाएका कारण भेनेजुयलाको अर्थतन्त्रमा इतिहासकै सवैभन्दा कडा सङ्कट आएको बताउने गरिन्छ। भेनेजुयलामा राष्ट्रपति र उनको दलका कारण अर्थतन्त्र डामाडोल भएको भन्दै लामो समय आन्दोलनरत समूह निर्वाचनमा सहभागी भएको थिएन।
मडुरोको विरोधीहरूले भेनेजुयलामा मानवीय तथा राजनीतिक सङ्कट गहिरिएको बताउँदै आएका छन्। उनीहरूले मडुरोको जीतपछि भेनेजुयलामा प्रजातान्त्रिक मुल्य मान्यताकोे हार भएको ठहर गरेका छन्। मडुरोले विधिको शासन, राजनीतिक स्वतन्त्रतालाई तोडेको विरोधीहरूको आरोप छ।
मडुरोले सन् २०१३ देखि ह्युगो चाभेजका उत्तराधिकारीका रूपमा सत्ता सम्हालेका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।