काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमले योजनाबद्ध ढंगले विकासको गतिलाई अगाडि बढाउने दाबी गरेका छन्।
नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि सोमबार राति आफ्नो ट्विटर एकाउन्ट मार्फत मन्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमले सुशासन र विकासमा जोड दिएको र यसले सबै भूभाग र पेशा-व्यवसायको अपेक्षा पूरा गर्ने बताएका छन्।
मन्तव्यको पूरा अंश:
सम्माननीय राष्ट्रपतिज्यूबाट आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ। त्यो सम्बोधन मार्फत नेपाल सरकारका नीति तथा कार्यक्रमहरु प्रस्तुत भएका छन्।
नीति तथा कार्यक्रमले सुशासन र विकासमा जोड दिएको छ। यसको अर्थ हो, शासन यन्त्रलाई सही ढंगले सञ्चालन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकासका प्रयासहरुलाई योजनाबद्ध ढंगले र सार्वभौमसत्ता सम्पन्न जनता आधारित भएर अगाडि बढाउने, सबै भूभाग र सबै पेशा-व्यवसायका जनताको विकास, पूर्वाधार, बाटाघाटा, यातायात, ऊर्जा, शिक्षा, स्वास्थ्य, सञ्चार क्षेत्र सबैको विकास गर्ने र मजदुर, किसान, व्यापारी, बुद्धिजीवी, विद्यार्थी महिला र शारीरिक रुपमा अशक्त रहेका असहाय, बेसहारा समेत सबैको हेरविचार गर्ने र सबैको कल्याण गर्ने गरी योजनाबद्ध विकासको नीतिका साथ अहिलेको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ।
यसले देशलाई योजनाबद्ध ढंगले विकासको गतिमा तीव्रताको साथ अगाडि बढाउँछ र समृद्धि हासिल गर्छ, 'समृद्ध नेपाल र सुखी नेपाली'को नेपाली जनताको चाहना र हाम्रो नारालाई यसले सफल पार्छ भन्ने कुरामा म विश्वस्त छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।