लुम्बिनी– मुस्लिम समुदायहरुले धुमधामका साथ रमजान पर्व मनाइँरहँदा रुपन्देहीको मुस्लिम बाहुल्य गद्दीडिह गाउँ यतिबेला शोकमा डुबेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मसिनाको गद्दिडिहमा दिउँसो पुग्दा गाउँलेहरु एकै पटक ४ वटा खाल्डो खन्दै थिए।
गाउँ नजिकै रहेको नौखनिया पोखरीमा डुबेर चार बालिकाको डुबेर मृत्यु भएपछि सिंगो गाउँ यतिबेला रोइरहेको छ।
सम्बन्धित समाचार: पौडी खेल्न नजान्दा पोखरीमा डुबेर ४ बालिकाको मृत्यु
एकै परिवारका दुई छोरीसहित ४ जनाको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन्।
अत्यधिक गर्मीका कारण गाउँ नजिकै रहेको पोखरीमा नुहाउन गएका थिए। तर, पौडिन नजान्दा ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिना खातुन, १० वर्षीया मोमिना खातुन र १४ वर्षीया साहविया खातुनको डुबेर ज्यान गयो। मृतकमध्ये मोमिना र अविदा एकै परिवारका दाजुभाइका छोरी हुन्। उनीहरु सहिनासँगै विचौआपुरको मदरसामा कक्षा २ मा पढ्दै थिए। यस्तै, मदरसा निस्वामा कक्षा १० मा पढ्ने साहविया पढाइमा समेत अब्बल रहेको स्थानीय बताउँछन्।
मुस्लिमहरुको पवित्र महिना रमजान चलिरहेकाले मदरसामा बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र पढाइ भइरहेको थियो। बिहानको कक्षा सकिएर घर फर्किनासाथै चर्को गर्मी छल्ने उपायको खोजीमा चार चेली नजिकैको पोखरीमा नुहाउन गएका थिए। सुरुमा तीन जना पोखरीमा पसे। उनीहरु डुबेपछि निकाल्न जाँदा १४ वर्षीया साहवियाको समेत मृत्यु भएको मोमिनाका ठूलो बुवा अब्दुल मुखिम खातुनले बताए।
उक्त पोखरी छेउमा रहेको बोरिङमा दिनहुँ यस क्षेत्रका बालबालिका र युवायुवती नुहाउन जाने गर्थे। ‘तर यस्तो घटना यसअघि कहिल्यै नभएकाले उनीहरु पोखरीमा गए’, मोमिनाकी आमा नुरजहाँ खातुनले रुँदै भनिन्, ‘घरमा सबैभन्दा सानी फूल जस्तै एउटै छोरी थिई मेरो, आज दैवले हामीबाट चुडेर लग्यो।’
उनीहरु डुबेको खबर नजिकै पोखरीमा कपडा धुँदै गरेकी एक बालिकाले देखेपछि गाउँलेलाई खबर गरेकी थिइन्। गाउँलेहरु पोखरीमा पुग्दा चारै जनाको मुत्यु भइसकेको थियो।
मृतक बालिकाहरुको भैरहवास्थित भीम अस्पतालमा पोस्टमार्टम गरी पोखरी छेउमै रहेको स्थानमा मुस्लिम संस्कार अनुसार अन्त्येष्टि गरिएको छ।
तराईमा अहिले बढ्दो गर्मीसँगै बालबालिकाहरु अभिभावकका आँखा छलेर पौडी खेल्न जाने गर्दा कतिपय बालबालिकाको डुबेर ज्यान जाने गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्यामलाल ज्ञवालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।