बबई बर्दिया- बर्दियाका करिब २ हजार किसानले बबई नहरमा थुप्रिएको बालुवा, गेग्र्यान र झारपात सामूहिक रुपमा सफा गरेका छन्।
बारबर्दिया, मधुवन ठाकुरबाबा, गुलरिया नगरपालिकाका करिब ६४ गाउँबाट एक घर एक जनाका हिसाबले शनिबार बिहानै किसानहरु घरबाट फरुवा, खानाको पोको र पानीको बोतल बोकेर बबई नदीको ब्यारेज नजिकै रहेको सेलटिङ बेसनमा पुगेका थिए।
नहर सफा गर्ने श्रमदानमा सहभागी हुन युवायवतीदेखि ६०/६५ वर्ष सम्मका वृद्धावृद्धा समेत फरुवा बोकेर नहरमा पसेका थिए। कुलापानी मौजाका बडघर एवं बर्गदा जम्ती नेउलापुर सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष भुजराम थारुले विभिन्न गाउँबाट आएका किसानहरुको समूहलाई सफाइ गर्ने क्षेत्र छुट्याएका थिए।
६४ गाउँमध्ये ५६ गाउँले आफ्नो भागमा परेको बालुवा, ग्रगेटो र झारपातलाई एकै दिनमा सफा गरेर भ्याए पनि बाँकी ८ गाउँका किसानहरुले २ दिन लगाएर नहरको सफाइ गरेका हुन्।
चार बिघा जमिन बराबर एक जना किसान नहर सफाइमा सहभागी हुनुपर्ने नियम किसानहरुले बनाएका छन्।
किसानहरुले बबई नहरको सेलटिङ बेसनमा १/२ दिन, शाखा नहरमा ३/४ दिन र आफ्नो खेतबारी नजिकको प्रशाखा नहरमा २/३ गरी हरेक बर्ष करिब एक हप्ता सम्म श्रमदान गरेर आफनो खेतबारी सम्म नहरको पानी पुराएर खेतबारीलाई हराभरा गराउँदै आएका छन्।
आकाशको पानीको भरमा खेती गर्नुभन्दा त्यही जमिनमा सिँचाइको सुविधाबाट खेती गर्दा दोब्बर बढीसम्म उत्पादन हुने भएका कारण किसान गर्मी, भोकप्यास र थकाइको परवाह नगरी नहर सरसफा र मर्मतमा जुटेको बर्गदा जम्ती नेउलापुर सिँचाइ जल उपभोक्ता समितिका सचिव बेदप्रसाद खनालले बताए।
पूर्वपश्चिम राजमार्गमा पर्ने बबई नदीमा ३ सय २५ मिटर लामो पुल सहितको बाँध र ५.५ किलोमिटर मुल नहर निर्माण गरी २०५० सालदेखि नै आयोजनाले परम्परागत रुपमा किसानहरुद्वारा सञ्चालित बूढी कुलो, मझरा कुलो, राजकुलो र धधवार कुलोमार्फत सिँचाइ सुविधा पुर्याउँदै आएको छ।
बबई नहरबाट बबई नदीको पूर्वी र पश्चिमी क्षेत्रमा सिँचाइ हुन्छ। पूर्वमा करिब १७ हजार हेक्टर र पश्चिममा करिब १० हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ। नहरका अझै पनि धेरै थप संरचना निर्माण गर्न बाँकी नै छ। थप संरचना निर्माण गरी पूर्वी क्षेत्रमा २१ हजार र पश्चिम क्षेत्रमा करिब १५ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ।
आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७८/०७९ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना सम्पन्न गर्न १२ अर्ब ५६ करोड लाग्ने अनुमान गरिएको छ। आयोजनामा हालसम्म करिब ६ अर्ब ३२ करोड खर्च भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।