नुवाकोट- नुवाकोटको बट्टारमा पहिलोपटक हुन लागेको सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुने स्थल बट्टार क्याम्पसस्थित मैदानले स्वरुप परिवर्तन गरेको छ।
जिल्ला खेलकुद विकास समिति नुवाकोट, नुवाकोट फुटबल संघको संयुक्त आयोजना तथा विदुर नगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लब, विभागीय टिम र नुवाकोट ११ सहित १० टिमको सहभागिता रहनेछ।
मैदानलाई व्यवस्थित गर्न अहिले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर प्रधान, नुवाकोट फुटबल संघका अध्यक्ष दीपक चित्रकार, उपाध्यक्ष उद्धव पनेरु र नुवाकोट युनाइटेड फुटबल क्लबका अध्यक्ष रामकुमार कोइराला, नेपाली सेनाका जवानहरु आफै मैदानमा दुबो रोप्ने र पानी हाल्ने काममा खटिएका छन्।
उनीहरुको मेहनतलाई स्थानीय तहहरुले पनि राम्रै साथ दिएका छन्। बेलकोटगढी नगरपालिकाले पहिलो पुरस्कारबापत ५ लाख दिने घोषणा गर्दा दोस्रो पुरस्कार तारकेश्वर गाउँपालिकाले प्रायोजन गर्ने भएको छ। त्यस्तै विदुर नगरपालिका वडा नं ४ का अध्यक्ष टलकमान श्रेष्ठ र वडा नं ६ का वडाध्यक्ष राजु सडौलाले वडा कार्यालयको तर्फबाट गोल्डकपलाई सफल बनाउन एकएक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
स्थानीय तहका जनप्रतिनिधिहरुले गरेको सहयोगले आफूहरु हौसिएको नुवाकोट फुटबल संघका उपाध्यक्ष उद्धव पनेरुले बताए। प्रतियोगिता सञ्चालन गर्न आयोजकलाई स्थानीय निकायमार्फत नै १२ लाखभन्दा बढी रुपैयाँ संकलन भइसकेको छ।
प्रतियोगिताका लागि कूल ५४ लाख २७ हजार रुपैयाँ लाग्ने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धिवहादुर प्रधानले बताए। प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख रुपैयाँ, द्वितीलाई ३ लाख नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता आगामी जेठ १७ देखि २६ गतेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।