काठमाडौं- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणलाई मन्त्रिपरिषदले रोक लगाएको छ। आइतबार साँझ बालुबाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले 'जनरल कन्भेन्सन अफ मधेसी एसोसियसन इन अमेरिका' भन्ने एनजिओको निम्तामा मुख्यमन्त्री राउतलाई अमेरिका पठाउन प्रदेश २ को मन्त्रिपरिषदबाट आएको प्रस्ताव अस्वीकार गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए।
'अहिले प्रदेश भित्रै आर्थिक वर्ष ०७५/७६ को नीति र बजेट निर्माण कार्य लगायतका संगठनात्मक संरचनाका महत्त्वपूर्ण काम गर्नुपर्ने समय परेकाले त्यहाँ जान अनुपयुक्त देखिएको टुंगो गरिएको छु', बास्कोटाले भने।
त्यस्तै, मुख्यमन्त्री तथा प्रदेश मन्त्रालयहरुको परिमार्जित संगठन संरचना सम्बन्धी प्रस्ताव पनि स्वीकृति गरिएको छ।
आजैको बैठकबाट मदन भण्डारी राजमार्ग निर्माण सम्बन्धी नयाँ प्रस्ताव पारित भएको छ। 'झापाको शान्तिनगरदेखि धरान, चतरा, गाइघाट, कटारी, सिन्धुलीमाडी, हेटौंडा, गैडाकोट, रामपुर, रामडी, रिडी, तम्घास, सिमलटारी, प्युठान, तुलसीपुर, बोटेचौर, सुर्खेत, बड्डीचौर, सिमचौर, बिपीनगर,सहजपुर,बुडर, जोगबुढा र रुपालसम्म पुग्नेगरी करिब १२ सय किलोमिटरको चुरे तथा भित्री मधेसको उपत्यका जोड्ने मुख्य उद्देश्यसहित राजमार्ग निर्माण गर्ने भौतिक तथा यातायात मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको छ', बास्कोटाले भने।
राष्ट्रिय विमा संस्थानको प्रशासकमा कविप्रसाद पाठक (झापा)लाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको सम्पति विवरण सार्वजनिक गर्ने निर्णय गरिएको छ।
सुन तस्करी छानबिन समितिको म्याद थप
त्यस्तै, ३३ किलो सुन तस्करी प्रकरण सम्बन्धी चलिरहेको छानबिनमा खटिएको विशेष अनुसन्धान टोलीको म्याद ०७५ जेठ मसान्तसम्म कार्यावधि थप गर्ने निर्णय गरिएको छ।
विमानस्थलबाट विगत ५ वर्षदेखि सुन तस्करी हुँदै आएको खुलेपछि गृह मन्त्रालयका सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति बनेको थियो। ४५ दिनको म्याद दिएर चैत २० गते गठित समितिको जेठ ४ गते म्याद सकिएको थियो। सुन तस्करी गिरोहमा आबद्ध सनम शाक्यको हत्या घटनामा भएको अनुसन्धानमाथि छानबिन गर्ने क्रममा सो तथ्य खुलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।