भैरहवा– द्वन्द्वकालमा विस्थापित भएका रुपन्देहीका छोटी भन्सार कार्यालयहरु अझैसम्म सञ्चालनमा आएका छैनन्।
छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा लाखौं रुपैयाँ राजस्व गुम्नुका साथै चोरी पैठारी समेत बढेको छ। भैरहवा भन्सार कार्यालय मातहत रुपन्देही र नवलपरासीमा १२ वटा छोटी भन्सारमध्ये ५ वटा कार्यालय बन्द छन्।
भैरहवा भन्सार कार्यालय रुपन्देहीका सूचना अधिकृत कलिराम पौडेलका अनुसार, रुपन्देही जिल्लाको बुचिबरेवा, अमुवा, पक्लिहवा, बेथरी, मन्झरीया छोटी भन्सार कार्यालय द्वन्द्वकालदेखि बन्द अवस्थामा छन्। राजस्व संकलनको दृष्टिले त्यति सम्भावना नदेखिएको र कर्मचारीहरु परिचालन गर्न समेत नसक्दा छोटी भन्सारहरु सञ्चालनमा ल्याउन नसकिएको उनले बताए।
भैरहवा भन्सार कार्यालय अन्तर्गत ८६ जनाको स्वीकृत दरबन्दी रहे पनि यहाँ ३४ जना फाजिल दरबन्दीसहित १ सय २२ जना कर्मचारी कार्यरत रहेको कार्यालयको तथ्यांकमा देखिएको छ। फाजिल दरबन्दी रहे पनि भन्सार कार्यालयले छोटी भन्सार कार्यालयहरुमा कर्मचारी पठाएको छैन।
बन्द रहेका यी भन्सार नाकाहरुबाट दैनिक लाखौं रुपैयाँको उपभोग्य वस्तु, कपडा लगायतका सामग्री भारतबाट तस्करी भइरहेका छन् भने अर्कोतर्फ भैरहवा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन समेत गर्न सकेको छैन। चालु आर्थिक वर्षको चैत महिनामा कार्यालयले ७ अर्ब ३२ करोड ९४ लाख राजश्व असुली गर्ने लक्ष्य राखे पनि जम्मा ६ अर्ब २२ करोड ३७ लाख मात्र राजस्व असुली गर्न सकेको छ। यो आर्थिक वर्षको कुनै पनि महिनामा कार्यालयले लक्ष्य अनुसारको राजस्व असुल गर्न नसकेको कार्यालयको तथ्यांकमा देखिएको छ।
बन्द रहेको छोटी भन्सार कार्यालय पुनःस्थापनाका लागि भैरहवा भन्सार कार्यालयमा मौखिक आग्रह र पत्राचार समेत गरे पनि बेवास्ता गरेको रोहिणी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सरोजकुमार पाण्डेले बताए। २०६० सालमा बन्द भएको अमुवा भन्सार पुनःस्थापना नहुँदा स्थानीयहरु समस्यामा पर्नुका साथै सो भन्सार क्षेत्रबाट सामानहरुको तस्करी हुँदै आएको उनको भनाइ छ।
रोहिणी गाउँपालिका २ का स्थानीय शंकर अग्रहरीले अमुवा भन्सारको पुनःस्थापना नहुँदा तस्करी बढेको र बेरोजगार युवाहरु पनि अपराधको दलदलमा फस्दै गएको बताए।
‘खुला सिमानाका कारण विद्यार्थीले समेत सहज आम्दानीका लागि तस्करीलाई रोज्ने गरेका छन्’, उनले भने, ‘भन्सार पुनःस्थापना भएमा नाकामा कडाइ हुन्थ्यो र तस्करी रोकिनेथ्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।