काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबीच भेटवार्ता भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार भएको भेटमा नेपाल–चीनबीच विद्युत् विकासका द्विपक्षीय सम्भावनाका परियोजनाको विषयमा छलफल भएको हो।
राजदूत पौडेलले चीन नेपालको जलविद्युत् तथा प्रसारण लाइन निर्माणमा सहकार्य गर्न उत्सुक रहेको जानकारी गराएका थिए।
यसैगरी, नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण, ऊर्जा विकास समन्वय (इनर्जी को–अपरेसन) लगायतका विषयमा छलफल भएको थियो। मन्त्री पुनले इनर्जी को–अपरेसनमा नेपाल सकारात्मक रहेको भन्दै त्यसका लागि आवश्यक तयारी गर्न राजदूत पौडेललाई आग्रह गरेका थिए।
चीनले पछिल्लो एक दशकमा १ लाख मेगावाट विद्युत् उत्पादन गरेकाले यसबाट नेपालले प्रविधि तथा सीप भित्र्याउन सक्ने राजदूत पौडेलको भनाइ थियो। चीन नेपालमा ३–३ वटा ठूला जलविद्युत् तथा प्रसारण लाइन परियोजना निर्माणमा सहयोग गर्न इच्छुक रहेको पौडेलले अवगत गराए।
जलविद्युत् तथा प्रसारण लाइन आयोजनाको विवरण तयार गरेर पठाउन पनि राजदूत पौडेलले मन्त्री पुनलाई आग्रह गरे। भेटमा मन्त्री पुनले आयोजना छनौटका लागि छलफल चलिरहेको जानकारी दिए।
नेपाल र चीनबीच गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति भइसकेको छ। यसबारे नेपाल विद्युत् प्राधिकरणले नेपालतर्फको सम्भाव्यता अध्ययन पूरा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।