काठमाडौं– बैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरुको स्वास्थ्य परिक्षण तथा भिषा प्रोसेसिङका नाममा सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायीहरु पक्राउ पर्न थालेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा प्रहरीले आइतबार काठमाडौंका विभिन्न मेडिकल सञ्चालकसहित व्यवसायीहरुलाई पक्राउ गरेको हो।
ज्ञानेश्वरस्थित वान स्टप सेन्टर(ओएससी)का सञ्चालक रामप्रसाद श्रेष्ठ तथा गैरीधारास्थित मञ्जुश्री मेडिकलका सञ्चालक मिनि तिवारी लगायतलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए। ठगी गर्ने अन्य मेडिकल सञ्चालकहरुको पनि खोजी भइरहेको उनले बताए।
डिआईजी धिरु बस्नेत नेतृत्वको टोलीले विभिन्न कम्पनीहरुमा छापा हानी व्यवसायीहरुलाई पक्राउ गराएको हो।
वान स्टप सेन्टरले पासपोर्ट संकलन गर्ने र भिएलन नामक कम्पनीले कामदारहरुको भिसाा प्रोसेसिङका लागि दुतावास पुर्याउने काम गर्दै आएको थियो। त्यसका नाममा सिन्डिकेट कायम गरी थप रकम असुल्दै आएका थिए। उनीहरुले हरेक कामदारबाट भिसा प्रक्रियाका नाममा प्रति कामदार ६ हजार रुपैयाँ भन्दा धेरै ठगी गर्दै आएका थिए।
मलेसिया जाने कामदार २९ वटा मेडिकलले मात्र स्वास्थ्य परिक्षण गर्न पाउने सिन्डिकेट खडा गरिएको थियो। २९ वटै मेडिकल सञ्चालकहरुविरुद्ध कारबाहीको तयारी भइरहेको छ।
श्रम मन्त्री गोकर्ण बिष्टले केही दिनअघि मात्र बायोमेट्रिक प्रणाली खारेज गरेका थिए। ठगी गर्नेहरुलाई कारबाहीक गर्ने समेत बताएका थिए। सोही अनुसार प्रहरीलाई पत्राचार गरी पक्राउ गराएका हुन्।
बायोमेट्रिकका नाममा मलेसिया जाने कामदारहरुसँग चर्काे मुल्य लिएर ठगी हुँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।