चितवन- आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई गत बैसाख २९ गते निर्घात कुटपिट गरेका तीन छात्र विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।
आवासमा बसेका आफ्नै साथीहरुले भरतपुर महानगरपालिका–१० निवासी सिर्जना पौडेल लामिछानेका छोरा १४ वर्षीय श्रीनव लामिछानेलाई मार्ने उद्देश्यका साथ कुटपिट गरेको भन्दै मुद्दा दर्ता गरिएको हो। लामिछानेले जाहेरी दिएपछि त्यही कक्षा ९ मा अध्ययनरत १४ र १५ वर्षीय दुई किशोर विरुद्ध मुद्दा दर्ता गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती बालकलाई नियन्त्रणमा लिएर जिल्ला अदालत चितवनमा पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ। दस वर्षभन्दा माथिका बालबालिकाले गर्ने बालबिज्याई विरुद्धमा मुद्दा लाग्ने गर्छ। दस वर्षमुनिका बालबालिकाको विरुद्धमा भने उनीहरु मानसिक रुपमा अपराध गर्न नसक्ने भन्दै मुद्दा लाग्दैन। तीन बालकलाई हिरासतमा नराखी संरक्षणमा राखेर अनुसन्धान गरिएको उनले बताए।
पीडित बालकका तर्फबाट दिइएको किटानी जाहेरीमा छोराको दायाँ आँखाको छेउमा गहिरो चोट लागेको, आँखा मुनिको हड्डी भाँचिएको उल्लेख छ। घाँटीमा हातले थिच्दा नीलडाम परेको छ भने दुवै आँखामा रगत जमेको जनाइएको छ। हाल ती बालकको काठमाडौंमा उपचार भइरहेको छ।
ती बालकलाई शौचालयमा गएका बेला तीन जना मिलेर घाँटी अँठ्याई भित्ता र धारामा ठोक्काएको परिवारले जनाएको छ। बालक चिच्याउँदा सुरक्षागार्ड आएपछि उनीहरु भागेको घाइते बालकले बताएका छन्। (रासस)
यो पनि पढ्नुहोस्-
विद्यालय बन्द गराउन साथीको हत्या गर्ने उद्देश्यले निर्घात कुटपिट, सैनिक महाविद्यालयका तीन विद्यार्थी निलम्बित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।