सुर्खेत– नेपाली राष्ट्रिय टिमका खेलाडीहरुले भरिएको त्रिभुवन आर्मी क्लबले सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग(केपिएल) टि–२० क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ। आज भएको खेलमा आर्मीले महाकाली क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको महाकालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय २९ रनको योगफल तयार पारेको थियो। उसका लागि सुरेन्द्र चन्दले सर्वाधिक २९, दिपेन्द्र चन्द र प्रकाश सिंहले समान १९ र किरण ठगुन्नाले १६ रनको योगदान दिए।
बलिङतर्फ आर्मीका सुशन भारी, विक्रम शोव र हरिकृष्ण झाले समान २/२ तथा जितेन्द्र मुखियाले एक विकेट लिन सफल भए।
महाकालीले दिएको एक सय ३० रनको लक्ष्य आर्मीले १४औं ओभरमा ५ विकेटको नोक्सानीमा पूरा गर्यो। उसका लागि विक्रम शोवले ६ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ४१ तथा नरेश बुढाऐरले ३२, अनिल मण्डलले २० र राजु रिजालले १६ रन बनाए। आर्मीका कप्तान विनोद भण्डारी र ओपनर सागर पुनले भने खाता खोल्न सकेनन्।
बलिङतर्फ महाकालीका विकास अग्रीले चार ओभरमा एक मेडेनसहित १४ रन मात्र दिएर ३ विकेट लिन सफल भए। उनले आफ्नो पहिलो ओभरमै कुनै पनि रन नदिई सागर पुन र विनोद भण्डारीको विकेट लिएका थिए। त्यसैगरी रविन क्षेत्री र महेन्द्र ठगुन्नाले एक/एक विकेट लिए।
खेलको म्यान अफ दि म्याच आर्मीका विक्रम शोक भए। प्रतियोगिताको आफ्नो पहिलो खेलमा आर्मी हिजो रुपन्देही–११ सँग पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।