सिओल– ५ करोड कोरियन वनको लागतमा दक्षिण कोरियामा बुद्धको मुर्ति प्रतिस्थापन गरिएको छ। दक्षिण कोरियाको ख्यंगी प्रान्तमा रहेको ऐतिहासिक वाउछङ्सा बौद्ध गुम्बामा बुद्धको मूर्ति आईतबार स्थापना गरिएकोे हो।
यहाँ क्रियाशिल नेपाली सम्पर्क समिति(एनसिसी) कोरियाको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यमा विभिन्न संघसंस्थाहरुको अगुवाइमा नेपालबाट मुर्ती ल्याएर स्थापना गरिएको हो। तामाको प्रयोग गरी बनाइएको ८ फिट अग्लो बुद्ध मूर्तिलाई नेपालका मुर्तिकारहरुले हातले कुँदेर बनाएका हुन्।
भगवान बुद्धबारे भइरहेका भ्रम निवारण गर्न कोरियामा रहेका नेपालीहरुको सक्रियतामा बुद्धको प्रतिमा यहाँको प्रसिद्ध गुम्बामा स्थापना गरिएको कार्यक्रम संयोजक अञ्जु केसीले जानकारी बताइन्।
कार्यक्रम संयोजक केसीका अनुसार उक्त मूर्ति कोरियासम्म ल्याउन र मुर्ति राखिएको गुम्बाको व्यवस्थापन समेतका लागि हालसम्म ५ करोड कोरियन वन खर्च भएको छ।
गत महिना कोरिया ल्याइएको मूर्तिलाई मे १२ मा २५६२औँ बुद्ध जयन्तिको अवसरमा सिओलमा आयोजित अन्तर्राष्ट्रिय शान्ति पदयात्रा र्यालीमा नगर परिक्रमा गराइएको थियो।
उक्त मुर्तिको स्थापनाले यहाँ आउने वौद्धमार्गीहरुमा बुद्धको जन्मस्थानबारे स्पष्ट जानकारी हुने र नेपालको पर्यटन विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको संयोजक केसीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।