रसुवा– चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक नेपाली सेनाले हस्तान्तरण गरेको छ। सडकको ट्रयाक निर्माण कार्य सम्पन्न गरेसँगै आज स्याफ्रुमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख सुबोध देवकोटालाई निर्माण सम्पन्न भएको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
यसअघि आज बिहान रक्षामन्त्री र्इश्वर पोखरेलले मैलुङमा रिवन काटेर सडकको समुद्घादन गरेका थिए।
हस्तान्तरण कार्यक्रममा रक्षामन्त्री पोखरेलसँगै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी लगायत सहभागी थिए।
नेपाली सेनाको मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैसाखदेखि दुई लेनको १७ किलोमिटर सडकको निर्माण कार्य सुरु गरेको थियो।
सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी दिइएको थियो। १७ किलोमिटर सडक दुई लेनको बनाएको सेनाले भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सडक पनि ‘सिङ्गल लेन’को बनाएको कार्यदलका प्रमुख एवम् प्राविधिक सेनानी सञ्जय केसीले जानकाारी दिए।
मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणमा ७० करोड ६९ लाख ९० हजार रुपैयाँ खर्च भएको नेपाली सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।