लन्डन– इडेन हजार्डले पेनाल्टीमार्फत गरेको एकमात्र गोलको मद्दतले चेल्सीले यस सिजनको एफए कपको उपाधि जितेको छ। गएराति भएको फाइनलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई १–० गोलअन्तरले परासजत गर्दै चेल्सीले उपाधिमाथि कब्जा जमाएको हो।
जितसँगै चेल्सीले आठौँ पटक तथा सन् २०१२ पछि पहिलो पटक एफए कपको उपाधि हात पार्न सफल भएको छ।
पहिलो हाफको २२ मिनेटमा युनाइटेडका डिफेन्डर फिल जोन्सले फल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी हान्ने अवसर दिएका थिए। सो अवसरलाई सदुपयोग गर्दै हजार्डले टोलीका लागि निर्णायक गोल गरेका हुन्।
युनाइटेडका लागि स्ट्राइकर रोमेलु लुकाकु घाइते भएर बेन्चमा मात्रै सिमित थिए। टोलीका लागि एलेक्सिस सान्चेजले गोल गरेपनि रेफ्री मिचेल ओलिभरले भिडियो एसिस्टेन्ट रेफ्री(भिएआर)को सहयोगमा अफसाइड घोषित गरिदिए। अर्का स्ट्राइकर पौल पोग्बाले हेड मार्फत गोल गर्ने सुन्दर अवसर खेर फाले।
खेलअवधिभर ६६ प्रतिशत समय बल आफ्नो पक्षमा पारेको युनाइटेडले चेल्सीको पोष्टमा १८ वटा सट प्रहार गरेको थियो। तर युनाइटेडका खेलाडी गोल गर्नबाट चुकेका थिए।
वेम्बली स्टेडियममा भएको खेल चेल्सीको म्यानेजरको रुपमा एन्टोनियो कोन्टेका लागि अन्तिम हुनसक्ने बताइएको छ। यदि त्यसो भएमा उनका लागि यो सुन्दर ‘फेयरओयल’ हुनेछ। यसअघि उनकै प्रशिक्षणमा चेल्सीले अघिल्लो सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको थियो।
उता अघिल्लो वर्ष २ वटा महत्वपूर्ण युरोपयन फुटबल प्रतियोगिताका उपाधि हात पारेको म्यान्चेस्टर युनाइटेड भने यसपटक खाली रहनुपरेको छ। एफए कपको पछिल्ला ४ फाइनल खेलेको युनाइटेडले मात्र १ पटक उपाधि हात पार्न सफल भएको छ। यसपटक म्यान्चेस्टरले एफए कप धेरै पटक जित्ने आर्सनल(१३ पटक) को रेकर्डसँग बराबरी गर्ने मौकासमेत गुमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।