रसुवा– चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक हस्तान्तरण गरिँदैछ। नेपाली सेनाले सो सडकको ट्रयाक निर्माण सम्पन्न गरेसँगै आज एक समारोहका बीच गल्छी त्रिशुली–मैलुङ– स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरिने भएको हो।
हस्तान्तरण गर्नुपूर्व बिहान ९ बजे रक्षामन्त्री इश्वर पोखरेलले जिल्लाको मैलुङमा रिवन काटेर सडकको समुद्घादन गर्ने कार्यक्रम छ। सडक उद्घाटनमा रक्षामन्त्री पोखरेलसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, अर्थमन्त्री युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतका व्यक्तिहरु सहभागी हुने आयोजनाले बताएको छ।
मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैसाखदेखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको निर्माण कार्यदलका प्रमुख एवम् प्राविधिक सेनानी सञ्जय केसीले जानकारी दिए।
सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी थपिएको थियो। १७ किलोमिटर सडक दुई लेनको बनाएको सेनाले भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सडक पनि ‘सिङ्गल लेन’को बनाएको छ।
मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणमा ७० करोड ६९ लाख ९० हजार रुपैयाँ खर्च भएको छ। दुई लेनको सडक निर्माण गर्दा एक किलोमिटरको निर्माण लागत ३ करोड ९० लाख रुपैयाँ पर्न आएको नेपाली सेनाले जनाएको छ।
२५ किमि दुरी छोट्टिने
नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुने छ। बेत्रावती देखि धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेकोमा हाल ट्र्याक खोलिएको बेत्रावती–मैलुङ–स्याफ्रुबेसीको दुरी २९ किलोमिटर मात्रै छ।
पासाङल्हामु राजमार्ग अन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती नरहेको निर्माण कार्यदलले जनाएको छ। काठमाण्डौदेखि गल्छी ४४, गल्छीदेखि बट्टार २२, बट्टारदेखि बेत्रावती ११, बेत्रावतीदेखि मैलुङ १२ र मैलुङदेखि स्याफ्रु १६ किलोमिटर दूरी रहेको छ।
काठमाडौंबाट बेत्रावती धुन्चे रसुवगढीको दूरी १ सय ४५ किलोमिटर रहेको छ भने काठमाडौैबाट बेत्रावती–मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी अब १ सय २२ किलोमिटर मात्र हुने छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठीन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्न नपर्ने प्रमुख एवम् प्राविधिक सेनानी केसीले बताए।
यस्तै, राम्चे, मुलखर्क र ग्राङमा पर्ने पहिरोको चिन्ता र जोखिमपूर्ण भिरको सडक समेत भएकाले वेत्रावती स्याफ्रुबेँसी सडक सञ्चालन गर्न मैलुङतर्फबाट सरकार बढी आकर्षित देखिएको छ। चीनले पनि यो मार्गको विकासका लागि चासो दिँदै आएको छ भने नेपाल सरकारले पनि चिनसँग नाका जोडिएका स्थानहरुका सडक मार्गहरुलाई प्राथमिकता दिएसँगै यो सडक निर्माण गर्ने कामले प्राथमिकता पाएको हो।
वर्षाको समयमा प्रयोग गर्न नमिल्ने
नवनिर्मित सडकमा दुई वर्षसम्म वर्षाको समयमा सवारी साधन सञ्चालन गर्न नमिल्ने नेपाली सेनाको मैलुङ स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले जनाएको छ। कार्यदलका अनुसार वर्षाको ४ महिना सवारी साधन सञ्चालन गर्दा जोखिम बढी हुन्छ। पहिरो खस्ने तथा ढुङ्गाहरु झर्ने सम्भावना बढी भएकाले वर्षा अवधिभर सवारी सञ्चालन नगर्दा सुरक्षित भइने कार्यदलका प्रमुख एवम् प्राविधिक सेनानी केसीले बताए। सो समयमा बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी जोड्ने सडक प्रयोग गर्न सकिने उनले सुझाए।
सेनाले निर्माण गरिरहेको सडक निर्माणपश्चात् अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरिएको रसुवागढी नाकाबाट आयात तथा निर्यात बढ्ने अपेक्षा गरिएको छ। चीनले पनि आफ्नो रसुवागढीदेखि केरुङसम्मको २६ किलोमिटर सडकलाई प्राथमिकतामा राखि तिव्र गतिमा निर्माण गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।