हवाना– क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका १ सय ७ जना यात्रुको सम्झनामा दुई दिन शोक मनाइने सरकारले शनिबार जनाएको छ।
क्युवाको राष्ट्रिय ध्वजाबहाक कम्पनी ‘क्युवना दे एभियसन’ ले मेक्सिकोको हवाई कम्पनी ग्लोबल एअरसँग भाडामा लिई चलाउँदै आएको करिब ४० वर्ष पूरानो बोइङ ७३७ मा यात्रारत चालक दलका सदस्यसहित १ सय १० जना यात्रारत विमान दुर्घटना हुँदा विमानमा सवार १ सय ७ जनाको मृत्यु भएको बताइएको छ। विमानबाट ३ जना महिलालाई सख्त घाइते अवस्थामा उद्धार गरिएको थियो।
विमान हवानास्थित जोस मार्टी विमानस्थलबाट आन्तरिक उडानमा पूर्वी होलगुइका लागि उडेको केही समयमा दुर्घटनाग्रस्त भएको थियो।
क्युवाले शनिबार बिहानैदेखि आइतबार मध्यरातसम्म मृतकको सम्झनामा शोक मनाउने घोषणा गरेको, क्युवाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व राष्ट्रपति राहुल क्यास्ट्रोले बताए।
विमानमा दुई अजेन्टिनी नागरिकसहित ५ जना विदेशी थिए भने अन्य सबै क्युवाली नागरिक रहेका थिए। विमानमा चालक दलका ६ जना सदस्य भने मेक्सिकोका नागरिक भएको बताइएको छ। विमानको दुर्घटनाबारे अनुसन्धानका लागि प्राविधिकसहितको टोली बनाई अनुसन्धान सुरु गरिएको राष्ट्रपति दायज केनलले बताए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।