सुर्खेत– रुस्लान कर्णाली प्रिमियर लिग(केपीएल)टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार पनि तीन वटा खेल सम्पन्न भएका छन्। बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत शनिबार भएका खेलमा मध्यपश्चिम क्रिकेट क्लबले पहिलो, रुपन्देही–११ ले दोस्रो र धनगढी क्रिकेट एकेडेमीले तेस्रो जित हात पारेका छन्।
मध्यपश्चिमको पहिलो जित
शनिबार भएको पहिलो तथा प्रतियोगिताको छैटौं खेलमा मध्यपश्चिम क्रिकेट क्लबले रोयल राइजिङ क्लबलाई ८ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको रोयल राइजिङ क्रिकेट क्लबले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाई ८७ रन मात्रै बनाउन सक्यो।
मध्यपश्चिम क्रिकेट क्लबका बलर दिपेन्द्र रावत एक्लैले ४ विकेट हात पार्न ४ ओभरमा १५ रन खर्चिए भने सुनिल सुनारले ३ विकेट तथा भीम धमलाले २ विकेट आफ्नो नाम गरे। रोयलको लागि ओपनिङ ब्याटिङ गरेका प्रकाश जैसीले सर्वाधिक ३० रन योगदान दिए भने खुसीराम विकले १६ तथा दिवान पुनले १३ रन बनाए।
८८ रनको लक्ष्य मध्यपश्चिमले ९ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। उसको जितमा ओपनर मनोज सुनारले अविजित अर्धसतक बनाउने क्रममा ५३ रनको स्कोर बनाउन मात्र २४ बलमा ५ छक्का र ४ चौका प्रहार गरे। यस्तै, कप्तान शुबेन्दु पाण्डे र राजवीर सिंहले समान १४ रन बनाए। खेलको म्यान अफ दि म्याच दिपेन्द्र रावत चुनिए।
धनगढीको तेस्रो जित
शनिबारै भएको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले एबिसी स्पोर्ट्स क्लबलाई ३२ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ। टस जितेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रनको योगफल तयार गरेको थियो।
धनगढीको लागि ओपनर सुनिल धमलाले सर्वाधिक ४० रनको योगदान गर्ने क्रममा ३५ बलमा ४ चौका प्रहार गरे। यस्तै, वसन्त कार्कीले ३० रन बनाउन २० बलमा ३ छक्का र १ चौका प्रहार गरे। लोकेश बमले २५ तथा कप्तान भुवन कार्कीले १५ रन बनाए। एबिसीका बलर सुनिल मिश्रा, करन मल्ल र आकाश थापाले समान २/२ विकेट आफ्नो नाम गरे।
१ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा एबिसी १ सय २१ रनमा समेटियो। एबिसीका ब्याट्सम्यान आयुष्मान बमले सर्वाधिक ३१ तथा महेश खत्रीले २१ रन योगदान दिए। धनगढीका बलर सुनिल धमला, बिक्रम ठगुन्ना र भुवन कार्कीले समान २÷२ विकेट लिन सफल भए। खेलको प्लेयर अफ द म्याच सुनिल धमला घोषित भए।
रुपन्देहीसँग आर्मी पराजित
आजै भएको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब रुपन्देही–११ सँग ४ विकेटले पराजित भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५५ रन बनाएको थियो। उसका लागि भीम सार्कीले चार चौका र दुई छक्काको सहयोगमा ४३, विनोद भण्डारीले ३ चौका र ३ छक्काका मद्यतमा ३२ र सागर पुनले २९ रनको योगदान दिए। बलिङतर्फ रुपन्देहीका कृष्ण कार्की र बसिर अहमदल ४÷४ तथा विक्रम भुषालले एक विकेट लिए।
हावा र वर्षाले केहीबेर खेल अवरुद्ध बनाएपछि ११ ओभरमा झारिएको थियो। जसमा रुपन्देहीले ९३ रनको नयाँ लक्ष्य पायो। उक्त लक्ष्य उसले १० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। रुपन्देहीका लागि लागि सुरज दराईले चार चौका र चार छक्काको मद्यतमा १६ बलमा ४५ रन बनाउँदै टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे। शंकर रानाले २२ र कृष्ण कार्कीले ११ रनको योगदान दिए।
बलिङतर्फ आर्मीका विक्रम शोकले चार तथा सुसन भारी र शाहव आलमले एक/एक विकेट लिए। उक्त खेलको म्यान अफ दि म्याच रुपन्देहीका सुरज दराई भए।
प्रतियोगितामा रुपन्देहीको लगातार दोस्रो जित हो भने त्रिभुवन आर्मी क्लब आफ्नो पहिलो खेलमा नै पराजित हुन पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।