लन्डन– एक भव्य समारोहकाबीच बेलायती राजकुमार ह्यारी र मेघान मार्कली विवाह बन्धनमा बाँधिएका छन्।
राजकुमार ह्यारी र ३६ वर्षीय अमेरिकी नायिका मार्कलीका बीचमा स्थानीय समानुसार मध्यान्ह १२ बजे विवाह भएको थियो। ब्रिकसायरको विन्डसोरस्थित सेन्ट जर्ज चापेल दरबारमा विवाह समारोह सम्पन्न भएको हो।
विवाहको मुख्य क्षणमा केही भावुक देखिएका ह्यारीले मेघानलाई औँठी लगाइदिए। मेघानले पनि ह्यारीलाई सोहि कार्य दोहोर्याइन्। यसअघि ह्यारीले मेघानको घुम्टो खोलिदिँदै भने, ‘तिमी असाध्यै राम्री देखिएकी छौ।’
बेलायती महारानी एलिजावेथ द्धितिय तथा ड्युक अफ एडिनवर्ग अर्थात एलिजावेथ पति फिलिप, मार्कलीकी आमा डोरिया रगल्यान्ड, राजपरिवारका अन्य सदस्यहरु लगायतको उपस्थिती रहेको थियो। मुटुको अकस्मात शल्यक्रिया गरिएका कारण मार्कलीका पिता थोमस मार्कली भने सो कार्यक्रममा उपस्थित हुन नसकेको बताइएको छ। ३ साताअघि मात्रै जन्मिएका राजकुमार ह्यारीका भतिज प्रिन्स लुइस पनि कार्यक्रममा देखिएनन्।
वैवाहिक कार्यक्रममा सहभागी हुन बेलायत तथा विश्वभरबाट विशिष्ट व्यक्तिहरुलाई पाहुनाको रुपमा निमन्त्रणा गरिएको थियो। विश्वप्रशिद्ध कलाकार, खेलाडी, कवि एवम् अन्य क्षेत्रका गरि करिब ६ सय जना विशिष्ट पाहुनाहरु सो कार्यक्रममा सरिक भएका थिए।
उनीहरुको फरक लाग्ने पहिरन तथा उपस्थितीले पनि सो समारोहमा थप रौनक छाएको थियो। जोडी बाँधिएर आएका सेलिब्रटी र विशिष्ट व्यक्तिहरुलाई एकै स्थानमा देखिनु वास्तवमै सामान्य कुरा थिएन। समारोहमा राजनीतिक पृष्ठभुमिका नेताहरुलाई भने प्रवेश दिइएको थिएन।
टेलिभिजन तथा अनलाइनमार्फत भएको प्रत्यक्ष प्रशारणमार्फत राजकुमार ह्यारी तथा मार्कलीको विवाहलाई विश्वभर लाखौँले हेरेको बताइएको छ। धरैले सो क्षणको प्रतिक्षा गरेको भन्दै सामाजिक सञ्जालहरुमा जोडीको फोटोसहित शुभकामना दिइरहेका छन्। यता सेन्ट जर्ज चापेल दरबारदेखि विन्डसोरको मूख्य बजारसम्म विवाहको साक्षी बस्न र नवदम्पत्तिलाई शुभकामना दिन करिब १ लाखभन्दा बढी मानिस उपस्थित भएको बिबिसीले लेखेको छ।
विवाहको औपचारिक कार्यक्रमपश्चात् स्थानीय समयानुसार दिउँसो १ बजे नवजोडीले करिब २५ मिनेटको समयसम्म सेन्ट जर्ज चापेल दरबारदेखि विन्डसोरको मूख्य बजारसम्म बग्गीमा सवार भएका थिए। सोक्रममा दुवैले उपस्थित प्रशंषक तथा शुभचिन्तकहरुसँग खुसी साटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।