काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखामा अब एसएसपी कार्यालय प्रमुख रहने भएका छन्। महाशाखामा रहेको डिआईजीको पदलाई प्रदेश कार्यालयमा स्थानान्तरण गरी एसएसपी कार्यालय प्रमुख रहने व्यवस्था गरिएको हो।
गृह मन्त्रलायले शुक्रबार ट्राफिक महाशाखा र प्रहरी महानिरीक्षकको कार्यालयमा रहेको डिआईजीको पदलाई प्रदेश कार्यालयमा स्थानान्तरण गरेको हो।
विगतमा पनि ट्राफिक महाशाखामा एसएसपी नै हुने प्रावधानमा २०६३ सालदेखि डिआईजी राख्न थालिएका थियो।
एसएसपी इन्चार्ज बनाइएसँगै महाशाखामा बसन्त पन्तलाई सरुवा गरिएको छ। महाशाखाका एसएसपी उमेश रन्जितकारलाई मध्यक्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा सरुवा गरिएको छ।
त्यस्तै शुक्रबार अन्य एसएसपीहरुको पनि सरुवा र पदस्थान भएको छ। बढुवा भएका २२ जनाको पदस्थान गरी ११ जना एसएसपीको गृह मन्त्रालयले सरुवा गरेको छ।
सरुवाअनुसार संघीय प्रहरी इकाइ नारायणीमा तारिणी लम्साल, संघीय प्रहरी इकाइ भेरीमा घनश्याम अर्याल, सगरमाथामा हरिभक्त प्रजापती र बाग्मतीमा सौरश राणालाई पठाइएके छ। त्यस्तै देवबहादुर बोहरालाई नेपालगञ्ज तालिम केन्द्रमा सरुवा गरिएको छ।
बढुवा भएकाहरुले पनि सिधैं इन्चार्ज हुने अवसर पाएका छन्। राजेन्द्र ढकाललाई संघीय प्रहरी इकाइ लुम्बिनी, सहकुल थापालाई सुपरिवेक्षण महाशाखा, अरुण बिसीलाई कार्य महाशाखा, प्रकाश अधिकारीलाई आर्थिक प्रशासन महाशाखा, मुकुन्द अधिकारीलाई अन्वेषण योजना निर्देशनालयमा पदस्थापन गरिएको छ।
शरद खत्रीलाई संघीय प्रहरी इकाइ मेची, हरिराज वाग्लेलाई सेती, दिलिप बस्नेतलाई अपराध अनुसन्धान विभाग, पूजा सिंहलाई महानगरीय प्रहरी कार्यालय, विभूतीराज पाण्डेलाई यूएन शाखा, बिक्रम चन्दलाई संघीय प्रहरी इकाइ महाकाली, भोजजंग शाहलाई राष्ट्रिय सुरक्षा परिषद्, नलप्रसाद उपाध्यायलाई आतंकवाद नियन्त्रण महाशाखामा पदस्थापन गरिएको छ।
त्यस्तै देव बहादुर बोगटीलाई विमानस्थल, राजेन्द्र प्रसाद चौधरीलाई संघीय प्रहरी इकाइ गण्डकी, शेखर कोइरालालाई संघीय प्रहरी इकाइ जनकपुरमा पदस्थापन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।