लन्डन– बेलायती राजकुमार ह्यारी र मेघान मार्कली विवाह बन्धनमा बाँधिएका छन्।
राजकुमार ह्यारी र ३६ वर्षीय अमेरिकी नायिका मार्कलीका बीचमा स्थानीय समानुसार मध्यान्ह १२ बजे विवाह भएको थियो। ब्रिकसायरको विन्डसोरस्थित सेन्ट जर्ज चापेल दरबारमा विवाह समारोह सम्पन्न भएको हो। साे क्रममा एकअर्काले रिङ साटासाट गर्दै चुम्बन गरेका थिए।
बेलायती महारानी एलिजावेथ द्धितिय तथा ड्युक अफ एडिनवर्ग अर्थात एलिजावेथ पति फिलिप, मार्कलीकी आमा डोरिया रगल्यान्ड, राजपरिवारका अन्य सदस्यहरु लगायतको उपस्थिती रहेको थियो। मुटुको अकस्मात शल्यक्रिया गरिएका कारण मार्कलीका पिता थोमस मार्कली भने सो कार्यक्रममा उपस्थित हुन नसकेको बताइएको छ। ३ साताअघि मात्रै जन्मिएका राजकुमार ह्यारीका भतिज प्रिन्स लुइस पनि कार्यक्रममा देखिएनन्।
वैवाहिक कार्यक्रममा सहभागी हुन बेलायत तथा विश्वभरबाट विशिष्ट व्यक्तिहरुलाई पाहुनाको रुपमा निमन्त्रणा गरिएको थियो।
विश्वप्रशिद्ध कलाकार, खेलाडी, कवि एवम् अन्य क्षेत्रका गरि करिब ६ सय जना विशिष्ट पाहुनाहरु सो कार्यक्रममा सरिक भएका थिए।
जनताको तर्फबाट मात्रै करिब १ हजार जनालाई निमन्त्रणा गरिएको छ। दरबारअघिको चौरमा भेला भएका उनीहरुले राजकुमारको जोडी दरबारभित्र प्रवेश गरेको र फर्किएको सजिलैसँग अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको थियो।
विवाहलाई विश्वभर चासोका साथ हेरिएको छ। टेलिभिजन तथा अनलाइनमार्फत भएको प्रत्यक्ष प्रशारणमार्फत राजकुमार ह्यारी तथा मार्कलीको विवाहलाई विश्वभर लाखौँले हेरेको बताइएको छ।
धरैले सो क्षणको प्रतिक्षा गरेको भन्दै सामाजिक सञ्जालहरुमा जोडीको फोटोसहित शुभकामना दिइरहेका छन्। यता सेन्ट जर्ज चापेल दरबारदेखि विन्डसोरको मूख्य बजारसम्म विवाहको साक्षी बस्न र नवदम्पत्तिलाई शुभकामना दिन करिब १ लाखभन्दा बढी मानिस उपस्थित भएको बिबिसीले लेखेको छ।
विवाहको औपचारिक कार्यक्रमपश्चात् स्थानीय समयानुसार दिउँसो १ बजे नवजोडीले करिब २५ मिनेटको समयसम्म सेन्ट जर्ज चापेल दरबारदेखि विन्डसोरको मूख्य बजारसम्म यात्रा गर्नेछन्। सोक्रममा दुवैले उपस्थित प्रशंषक तथा शुभचिन्तकहरुसँग खुसी साट्ने छन्।
आज अपरान्ह सेन्ट जर्ज हलमा राजकुमारका नवदम्पती तथा पाहुनाहरुको लागि रिसेप्सन पार्टीको आयोजना गरिएको छ। साँझ भने राजकुमार चाल्र्सले आफ्ना नवविवाहित भाइबुहारी, परिवारका सदस्य तथा नजिकका साथीहरुलाई फ्रगमोर हाउसमा व्यक्तिगत रिसेप्सन पार्टीको आयोजना गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।