काठमाडौं– यातायातको सिन्डिकेट तोड्न विशेष भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई हालै गरिएको सरुवाको विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफ्नो बचाउ गरेका छन्।
नेपाल पत्रकार महासंघ प्रदेश २ को नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्न जनकपुरमा आयोजित कार्यक्रममा मन्त्री महासेठले कर्मचारी सरुवालाई ठूलो कुराको रुपमा नलिन आग्रह समेत गरे। सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशक भट्टराईको सरुवापछि मन्त्री महासेठको आलोचना भइरहँदा उनले मन्त्रालयमा महत्वपूर्ण कामका लागि महानिर्देशकको सरुवा गरिएको जिकिर गरेका छन्।
भट्टराईलाई मन्त्री महासेठको ठाडो आदेशमा शुक्रबार विभागबाट मन्त्रालयमा तानिएको थियो।
अर्को प्रसंगमा नवगठित नेपाल कम्युनिस्ट पार्टीको नेता समेत रहेका मन्त्री महासेठले वाम एकतापछि अब प्रदेश २ सँगै सिंगो मुलुकको विकासको ढोका खुलेको बताए।
उनले वाम एकताले मुलुकमा स्थिर सरकारका रुपमा विकासका कामलाई अघि बढाउन सहज भएको भन्दै यसले मधेसको विकासमा पनि प्रचुर टेवा पुग्ने दाबी गरे।
‘सरकारले प्रदेश २ लाई विकासको अधियानमा कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा व्यापक चिन्तनसँगै आवश्यक तयारी समेत गरिरहेको छ’, उनले भने, ‘विगतका सरकारको विभेदकारी नीतिका कारण पछाडि परेको मधेसलाई विकासको मूलधारमा ल्याउन विशेष कार्यक्रम घोषणा हुनेछ।’
मन्त्री महासेठले मधेसको विकासका लागि अन्तर्राष्ट्रिय स्तरमा रेल र सडक मार्ग मार्फत सम्बन्ध विस्तार गर्ने तयारी भइरहेको बताए। उनले चार लेन र ६ लेनको सडक सञ्जालले मुलुकमा यातायात सम्पर्क स्थापित गरिने जानकारी दिए।
प्रदेश २ का नवनिर्वाचित अध्यक्ष दिपेन्द्र चौहानले पत्रकार क्षेत्रको समस्या सामाधानका लागि प्रदेश अन्तर्गतका शाखा लगायत सबै पत्रकारको सल्लाहबाट आफूले काम गर्ने प्रतिबद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।