काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षीलाई कमजोर नदेख्न सांसदहरुलाई सुझाव दिएका छन्।
पार्टी एकीकरणपछि शनिबार संघीय संसद भवन नयाँबानेश्वरमा बसेको पहिलो संसदीय दलको एकीकृत बैठकमा अध्यक्ष दाहालले ठूलो पार्टी भयौ भन्दैमा प्रतिपक्षीलाई कमजोर नठान्न सांसदहरुलाई सुझाव दिएका हुन्। पार्टी एकीकरणले दिएको उत्साह र ऊर्जासँगै प्रतिपक्षी दलबाट हुनसक्ने विरोध र चुनौती पनि उत्तिकै बढ्ने कुरा बुझ्नुपर्नेमा उनले जोड दिए।
युद्धमा पराजित भएको सेनाले युद्धकला र त्यसको शिक्षा अझै राम्रोसँग सिक्न मिहिनेत गर्ने प्रसंग उल्लेख गर्दै अध्यक्ष दाहालले वैचारिक ढंगले प्रतिपक्षी दलले आफूहरुको कमजोरी औंल्याउन अझै मिहिनेत गर्ने भएकाले ठूलो पार्टीको आनन्द महसुस गरेर ढुक्क रहन नहुने सुझाए। उनले भने, ‘अर्को पक्षलाई कमजोर ठानेर रिल्याक्स गर्ने छुट हामीलाई छैन।’
अध्यक्ष दाहालले पार्टी एकीकरणलाई राजनीतिक आन्दोलनको असाधारण परिघटनाको संज्ञा दिए। यो परिघटनालाई विश्वले नै अत्यन्तै चासोका साथ हेरिरहेको तथा जनताको अपेक्षा पनि बढाएकाले विगतमा भन्दा कैयौं गुणा चुनौती र जिम्मेवारी थपिएको बोध गर्दै सबै अपेक्षा पूरा गर्ने दिशामा अग्रसर हुन पनि उनले सबैलाई आह्वान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।