लन्डन– बेलायतकाे राजपरिवारले आज नयाँ बुहारी पाउँदैछ। राजकुमार ह्यारी र मेघान मार्कली आज विवाह बन्धनमा बाँधिन लागेका हुन्।
विवाह समारोह ब्रिकसायरको विन्डसोरस्थित सेन्ट जर्ज चापेल दरबारमा हुनेछ। जहाँ राजकुमार ह्यारीको नामाकरण गरिएको थियो भने मेघानले ‘बाप्तिजम’ ग्रहण गरेकी थिइन्। बेलायती समयानुसार आज मध्यान्ह ठिक १२ बजेको समयमा उनीहरुबीच विवाह हुने कार्यक्रम छ। सोका लागि बेलायत तथा विश्वभरबाट विशिष्ट व्यक्तिहरुलाई पाहुनाको रुपमा निमन्त्रणा गरिएको छ।
मार्कलीकी आमा डोरिया रगल्यान्ड बुधबार मात्रै बेलायत आइपुगेकी हुन्। उनले बुधबार नै महारानी एलिजावेथ द्धितिय तथा ड्युक अफ एडिनवर्ग अर्थात एलिजावेथ पति फिलिपसँग भेटवार्ता गरेकी थिइन्।
विवाह समारोहमा राजकमार ह्यारीको परिवार तथा केही समयअघि मात्रै 'हिप'को शल्यक्रिया गराएका भएपनि महारानीका पति फिलिप पनि कार्यक्रममा सरिक हुने किंग्सटन प्यालेसले स्पष्ट पारेको छ। तर ३ साताअघि मात्रै जन्मिएका राजकुमार ह्यारीका भतिज प्रिन्स लुइस भने कार्यक्रममा देखिनेछैनन्।
बेलायती प्रधानमन्त्री थेरेसा मे, लेवर पार्टीका प्रमुख नेता जेरेमी कोर्विन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि पाहुनाको सूचीमा नाम नभएको बताइएको छ। किंगस्टन प्यालेसले भने उपलब्ध गराइएको सूची राजनीतिक नेताहरुको नभएको जनाएको छ।
राजकुमार प्रिन्सका साथी समेत रहेका अमेरिकी पूर्वराष्ट्रपति बाराक ओवामा तथा मिसेल ओवामालाई पनि निमन्त्रणा नपुगेको बताइएको छ। जनताको तर्फबाट मात्रै करिब १ हजार जनालाई निमन्त्रणा गरिएको छ। दरबारअघिको चौरमा भेला भएका उनीहरुले राजकुमारको जोडी दरबारभित्र प्रवेश गरेको र फर्किएको सजिलैसँग अवलोकन गर्न पाउनेछन्।
विवाहलाई युरोपभर चासोका साथ हेरिएको छ। धरैले सो क्षणको प्रतिक्षा गरेको भन्दै सामाजिक सञ्जालहरुमा जोडीको फोटोसहित शुभकामना दिइरहेका छन्।
विवाहअन्तर्गत आज दिनभर हुने कार्यक्रमहरुः
बिहान ८ बजेः आमन्त्रित पाहुना तथा जनताहरु राजदरबारको बाहिरपट्टि रहेको चौरमा भेला हुन सुरु हुनेछ। जहाँबाट उनीहरुले राजपरिवारका सदस्यहरु दरबारभित्र प्रवेश गरेको अवलोकन गर्न पाउनेछन्।
९ः३० बजेः राजदरबारभित्रका लागि आमन्त्रित पाहुनाहरुको आउने क्रम सुरु हुनेछ।
११ः१५ बजेः वैवाहिक समारोह हुने विशेष हलभित्र सबै पाहुनाहरु आ–आफ्नो सिटमा बसिसक्नुपर्नेछ।
११ः२५ बजेः राजपरिवारका सदस्यहरु सेन्ट जर्ज चापेल दरबारमा उपस्थित हुनेछन्। र परिवारका लागि छुट्टै व्यवस्था गरिएको सिटमा उनीहरु बस्नेछन्।
११ः४० बजेः सेन्ट जर्ज चापेल दरबारको पश्चिम ढोकाबाट राजकुमार ह्यारी र राजकुमारी विलियम प्रवेश गर्नेछन्।
११ः४५ बजेः मेघान मार्कलीकी आमा डोरिया रगल्यान्ड चापेलमा प्रवेश गर्नेछिन्। तर उनका पिता थोमस मार्कली भने मुटुको शल्यक्रियाका कारण विवाह समारोहमा उपस्थित हुन नसक्ने बताइएको छ।
११ः५२ बजेः महारानी एलिजावेथ द्धितियको सेन्ट जर्ज चापेल दरबारमा सवारी हुनेछ।
१२ः०० बजेः सेन्ट जर्ज चापेल दरबारमा उपस्थित ६ सयभन्दा बढी पाहुनाहरुको उपस्थितीमा औपचारिक रुपमा विवाह समारोह सुरु हुनेछ।
१३ः०० बजेः नवजोडीले करिब २५ मिनेटको समयसम्म सेन्ट जर्ज चापेल दरबारदेखि विन्डसोरको मूख्य बजारसम्म यात्रा गर्नेछन् र उपस्थित प्रशंषक तथा शुभचिन्तकहरुसँग खुसीसाट्नेछन्। जहाँ १ लाखभन्दा बढीको उपस्थिती रहने अनुमान गरिएको छ।
अपरान्हः सेन्ट जर्ज हलमा राजकुमारका नवदम्पती तथा पाहुनाहरुको लागि रिसेप्सन पार्टी आयोजना गरिएको छ।
साँझः राजकुमार चाल्र्सले आफ्ना नवविवाहित भाइबुहारी, परिवारका सदस्य तथा नजिकका साथीहरुलाई फ्रगमोर हाउसमा व्यक्तिगत रिसेप्सन पार्टी दिनेछन्।
(एजेन्सीहरुकाे सहयाेगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।