काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभई असाधारण रहेको बताएका छन्।
संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकता प्रक्रिया नेपालको मात्रै नभई विश्वकै असाधारण घटना भएको बताए। कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ परिस्थितिमा 8वादको यात्रा तय गर्नका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताले मार्ग प्रशस्त गरेको उनको भनाइ छ।
दुई पार्टीको एकतापछि देश र विदेशबाट बधाईका सन्देश लगातार आइरहेको जानकारी दिँदै उनले विश्व समुदायले पनि नेपालको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालिरहेको बताए।
आफूहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको उल्लेख गर्दै उनले भने, 'जनताको अपेक्षा पूरा गर्न र देशलाई आर्थिक समृद्धिको दिशामा लैजान पनि एकता इतिहासकै महत्वपूर्ण घटनाक्रमका रुपमा स्थापित भएको छ।'
इतिहास, नेपाली जनता र देशले दिएको जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ आफूहरु एकीकृत रुपमा अगाडि बढ्ने संकल्प गरेको र त्यो पूरा भएको उनको भनाइ थियो। विकास समृद्धिको यात्रालाई प्रभावकारी रुपमा अगाडि बढाउने दायित्व समेत नेपाल कम्युनिस्ट पार्टी र वर्तमान सरकारको काँधमा आएको उनले स्पष्ट पारे।
केही दिनभित्रै वर्तमान सरकारको नीति तथा कार्यक्रम आउने र नयाँ सरकारको बजेट समेत प्रस्तुत हुने उल्लेख गर्दै उनले ठूलाठूला परियोजना र राष्ट्रिय गौरवका आयोजनालाई पूरा गरेरै छाडिने दृढता व्यक्त गरे।
दुई पार्टीको एकतापछि आज नेकपाका सांसदको बैठक बसेको हो।
बैठकले संसदीय दलको प्रमुख नेतामा केपी ओलीलाई सर्वसम्मत चयन गरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।