रसुवा- रसुवामा भएको ‘तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनमा शिवदल गण बर्दियाका खगेन्द्रबहादुर भाट प्रथम भएका छन्। उनले समुद्री सतहबाट ३ हजार ८७० मिटर उचाइस्थित क्याङजिङ गुम्बाबाट स्याफ्रुबेँसीसम्मको दुरी ३ घन्टा ४९ मिनेट २७ सेकेन्डमा पूरा गरेका थिए।
यस्तै नारायण दल गण कपिलवस्तुका भरत खत्री दोस्रो र सोही गणका सुवास कार्की तेस्रो भए। खत्रीले ४ घन्टा ७ मिनेट १८ सेकेन्डमा र कार्कीले ४ घन्टा ७ मिनेट ५८ सेकेन्डमा दुरी पार गरेका थिए।
महिलातर्फ भने नजिता आइसकेको छैन।
यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले लाङटाङस्थित क्याङजिन गुम्बाबाट म्याराथनको उद्घाटन गरेका थिए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आयोजना गरेको ‘तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनमा लिन १५ जना महिलासहित सय जनाको सहभागिता रहेको छ।
क्याङजिङ गुम्बादेखि म्याराथन सुरु भएको म्याराथनको रुट घोडा तबेला, शेर्पागाउँ, खान्जिम हुँदै स्याफ्रुबेसी तोकिएको छ। जसको दुरी ४२ दशमलव १९५ किलोमिटर रहेको छ। म्याराथनमा पहिलो हुनेले एक लाख पाँच हजार, दोस्रोले ७८ हजार ७ सय ५० र तेस्रोले ५२ हजार ५ सय पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।