टेक्सास– अमेरिकाको टेस्कासस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ। घटनामा अन्य १० जना घाइते भएका टेस्कासका गभर्नरले बताए।
सान्टा फि हाइ स्कुलमा स्थानीय समयानुसार बिहान ८ बजे कलाको कक्षा सञ्चालन भइरहेका बेला बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ। गोली प्रहार गर्ने व्यक्ति १७ वर्षीय दिमित्रिओस प्यागोर्टजिस सोही विद्यालयका विद्यार्थी रहेको प्रहरीले जनाएको छ। हाल उनलाई प्रहरीले नियन्त्रणमा लिई ज्यान मार्ने कसुरमा मुद्दा दायर गरेको छ।
उनले आफ्ना बुवाको नाममा दर्ता भएको सटगन र रिभल्भरबाट गोली प्रहार गरेको खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना विद्यार्थी र १ जना शिक्षक रहेका छन्। स्कुलका प्रहरी अधिकारी जोन वन्र्सको अवस्था पनि गम्भीर रहेको र उनको शल्यक्रियाको तयारी गरिएको स्थानीय सञ्चारमाध्यहरुले जनाएका छन्।
हस्टनबाट ६५ किलोमिटर दक्षिणतर्फ रहेको स्कुलभित्र तथा बाहिर पनि विभिन्न प्रकारका विस्फोटक पदार्थ भेटिएको टेस्कास राज्यका गभर्नर ग्रेग अवोटले बताए।
दिमित्रिओसले घटना कसरी घटाउने भन्ने विषयमा विस्तृत खाका तथा गोली प्रहारपछि आफुले पनि आत्महत्या गर्ने योजना बताएको उनका डायरी, कम्पुटर र मोबाइलबाट प्रहरीले पत्ता लगाएको गभर्नर अवोटले जानकरी दिए।
‘उनले आत्महत्या गर्न सकेनन् र प्रहरीसामु आफै आएर आत्मसमर्पण गरेका हुन्।’, उनले भने।
सान्टा फि प्रहरी प्रमुख जेफ पोवेलले कनै पनि शंकास्पद वस्तु भेटेमा त्यसलाई नछुन र सावधानी अपनाउन स्थानीयलाई सचेत गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।