सुर्खेत– टीकापुर क्रिकेट क्लबले लगातार दोस्रो जीत हात पार्दै कर्णाली प्रिमियर लिगमा आफ्नो विजयी यात्रालाई जारी राखेको छ।
प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा टीकापुरले शुक्रबार महाकाली क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्यो।
पहिलो खेलमा बिहीबार भेरीगंगा क्रिकेट क्लबलाई ३५ रनमा अलआउट गर्दै टीकापुरले १ सय ९ रनको फराकिलो जित हात पारेको थियो।
टीकापुरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको महाकाली क्रिकेट क्लबले २० ओभरमा अलआउट हुँदै १ सय ४८ रन बनायो। उसका लागि प्रकाश सिंहले ३ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ३७ रन जोडे। नरेश बोहोराले ३३, सुरेन्द्र चन्दले २९ र रविन क्षेत्रीले १६ रनको योगदान दिए।
बलिङतर्फ टीकापुरका वविन शर्मा र अर्जुन शाहीले २/२ तथा रवि शाह र अनिल विकले १/१ विकेट लिए।
१ सय ४९ रनको लक्ष्य टीकापुरले ८ विकेट गुमाएर भेट्टायो। उसका लागि रवि शाहले ३७ बलमा ११ चौकासहित सर्वाधिक ५५ रन बनाए। त्यसैगरी, आयुव चन्दले २४, अजय विष्टले २० र राजन शेरचनले १० रनको योगदान दिए।
बलिङतर्फ महाकालीका नरेश बोहोराले ३, किरण ठगुन्ना र रविन क्षेत्रीले २/२ विकेट लिन सफल भए। उक्त खेलको म्यान अफ दि म्याच टीकापुरका रवि शाह भए।
बन्धुविकास बहुउद्देश्यीय सहकारीको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिगमा विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल आर्मी क्लब, शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देहही–११ सहितका १० टिमको सहभागिता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।