काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रले बिहीबार पार्टी एकता गरी गठन गरेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दोस्रो दिन एकअर्काका पार्टी कार्यालयमा स्वागत र निरीक्षण गरेका छन्।
पार्टी एकीकरणपछि पहिला दुवै पार्टीसँग रहेका कार्यालय र भौतिक सम्पत्तिलाई कसरी व्यवस्थापन गर्ने र कुन कार्यालयलाई कसरी प्रयोग गर्ने भन्ने निर्क्यौलमा पुग्न दुवै अध्यक्षले एक-अर्काका पार्टी कार्यालयको अवलोकन गरेका हुन्।
शुक्रबार दिउँसो अध्यक्षद्वय ओली र प्रचन्ड पहिला एमालेको पार्टी कार्यालय धुम्बाराही पुगेका थिए। त्यहाँ, एमालेतर्फका नेताहरुले माओवादी केन्द्रतर्फका नेताहरुलाई स्वागत गरेका थिए।
प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापा 'बादल' लगायतका नेताहरु पनि धुम्बाराही पुगेका थिए। ओलीले प्रचण्डलाई आफ्नै कार्यकक्षमा लिएर गए र आफ्नै टेबल 'सेयर' गरे। फरकफरक कुर्सी र एउटै टेबलमा दुई अध्यक्ष बसेका थिए।
त्यसपछि दुवै अध्यक्ष माओवादी केन्द्रको कार्यालय पेरिस डाँडा पुगेका थिए। त्यहाँ ओली र एमालेतर्फका नेताहरुलाई माओवादी केन्द्रतर्फका नेताहरुले स्वागत गर्नुका साथै कार्यालय घुमाएका थिए।
धुम्बाराहीको स्वागत र निरीक्षणपछि ओली लगायतका नेतालाई स्वागत गर्ने चटारो पूर्वमाओवादीको पार्टी कार्यालय पेरिसडाँडालाई थियो। पेरिसडाँडामा अध्यक्षद्वय ओली र प्रचण्डलाई कार्यालय सचिव प्रह्लाद बुढाथोकी लगायतका केन्द्रीय नेताले स्वागत गरेका थिए। पेरिस डाँडामा पूर्वएमालेका नेताहरु माधव नेपाल, बामदेव गौतम, विष्णु पौडेल, योगेश भट्टराई, राजन भट्टराई लगायतका नेता पनि पुगेका थिए।
पार्टी एक भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टीले दुवै पार्टीको सम्पत्ति नयाँ पार्टीका नाममा ल्याउने र प्रयोग गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार ओली र प्रचण्डसहित सचिवालयका शीर्ष नेता र अन्य नेताहरुले शुक्रबार नै पार्टीका कार्यालयहरु निरीक्षण गरेका हुन्।
पेरिस डाँडामा कार्यालय अवलोकनपछि बोल्दै अध्यक्ष प्रचण्डले दुवै पार्टी एकीकरण भइसकेपछि पार्टीका कार्यालय एकीकरण गर्ने उद्देश्यले तत्काल अवलोकन गरिएको जनाए।
यस्तै, अध्यक्ष ओलीले कुन कार्यालयलाई कसरी प्रयोग गर्ने भन्ने टुंगो लगाउन सबै नेताहरुले दुवै कार्यालयको निरीक्षण गरेको बताए।
दुवै अध्यक्षले पार्टी एकता देश र जनताको आवश्यकता अनुसार भएकाले जनताको हित विपरीत गएर कहिल्यै काम नगर्ने प्रतिबद्धता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।