काठमाडौं- लमजुङको क्व्होलासोथार गाउँपालिकामा पर्ने भुजुङ गाउँ गुरुङ संस्कृति र परम्पराका लागि प्रख्यात छ। लमजुङ सदरमुकाम बेंशीसहरबाट करिब ८ घन्टा पैदल हिँडेपछि पुगिने भुजुङ सबैभन्दा धेरै गुरुङको बसोबास रहेको गाउँ मानिन्छ।
गाउँपालिका बन्नुअघि भुजुङ गाउँविकास समिति थियो। 'एउटै गाउँको गाबिस' भनेर चिनिएको भुजुङका ९ वटै वडा एउटै गाउँभित्र पर्थे। समुद्र सतहभन्दा १६ सय मिटर उचाइमा अवस्थित भुजुङ प्राकृतिक रुपमा उत्तिकै आकर्षक छ।
४ सयभन्दा बढी घरधुरी बसोबास रहेको भुजुङमा आज पनि रोदीको प्रचलन छ। कुसुन्डा, सती र बाह्रमासे घाटूजस्ता गुरुङ समुदायका परम्परागत तथा मौलिक नाचहरुका कारण पनि भुजुङ अन्य गुरुङ गाउँभन्दा पृथक छ। पहाडको भिरालो भागमा झुरुप्प बसेको बस्ती निकै व्यवस्थित छ। हरेक घरमा पुग्न सकिने गरी गोरेटो बनाइएका छन् भने करिब-करिब सबैजसोको आँगनसम्म पानी पुग्ने व्यवस्था छ।
ढुंगाले छाएका घरहरुले बस्ती सुन्दर देखिन्छ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भुजुङमा चौबिसै घन्टा बिजुली बलिरहन्छ। ग्रामीण पर्यटनको अवधारणा अनुसार समुदायले होमस्टे सेवा सञ्चालन गरेको यो गाउँमा स्थानीयबासीको स्वागत सत्कारले स्वदेशी र विदेशी पर्यटकहरु मख्ख पर्ने गर्छन्। भुजुङमा स्थानीय भाषामा नारेप्पा भनिने गाउँमै पाइने कोदोको रक्सी, कोदोकै ढिँडो, गुन्द्रुकको अचार, सिस्नुको खोले र सिजनमा भीरमौरीको महको स्वाद चाख्न पाइन्छ।
गाउँको जीवनशैलीले बाहिरबाट पुग्ने जोकोहीलाई लोभ्याउँछ। त्यसमाथि गाउँका हँसिला केटाकेटीसँग त पर्यटक नरत्तिने कुरै भएन। भुजुङका तिनै हँसिला-रसिला केटाकेटीका केही तस्वीर:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।