बुटवल– राष्ट्रिय भू–उपयोग आयोजनाले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई भू–उपयोग नक्सा हस्तान्तरण गरेको छ। आयोजनाले नगरको भू–उपयोग नक्सा तथा विवरण सहितको प्रतिवेदन बिहीबार हस्तान्तरण गरेको हो। मुलुकमै पहिलो पटक तिलोत्तमा नगरपालिकालाई भू–उपयोग नक्सा हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ।
आयोजना कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहत पर्दछ। तराईका २० जिल्लाको नक्सा तयार पारिसकेको आयोजनाले पहाडी र हिमाली जिल्लाहरुको समेत नक्सा तयार पार्ने क्रममा रहेको जनाएको छ।
प्रतिवेदन हस्तान्तरण गर्दै आयोजनाका सर्वे अधिकृत इञ्जिनियर सुमीर कोइरालाले नगरपालिकाले दिएको चासोका कारण मुलुकमै पहिलो पटक तिलोत्तमा नगरपालिकालाई भू–उपयोग नक्सा हस्तान्तरण गरिएको जानकारी दिए। कोइरालाका अनुसार नगरपालिकाले स्थानीय स्तरमा भू–उपयोग योजना बनाउन थालिएको जानकारी गराउँदै आयोजनालाई नक्सा उपलब्ध गराउन गत चैत्रमा आग्रह गरेको थियो।
आयोजनाले तराईका अधिकांश जिल्लाहरुको भू–उपयोग नक्सा तयार पारिसकेको र अन्य स्थानीय तहलाई क्रमशः नक्सा हस्तान्तरण गरिने आयोजनाले जनाएको छ।
नक्सा ग्रहण गर्दै तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले भूमिको उपयोग, नियमन र व्यवस्थापनमा आयोजनाले उपलब्ध गराएको नक्सालाई प्रयोग गरिने बताए। ‘नक्साका आधारमा कुन–कुन क्षेत्रको जग्गालाई कुन रुपमा प्रयोग गर्न सकिन्छ भन्ने विषय प्रष्ट हुनेछ।’, नगरप्रमुख घिमिरले भने,‘यसले कृषि क्षेत्रको संरक्षण, योजनाबद्ध र व्यवस्थित आवासीय, व्यावसायिक तथा औद्योगिक क्षेत्रको निर्धारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’
नक्साका आधारमा भूमि स्रोतको अधिकतम उपयोगका लागि वर्गीकरण र यसरी गरिएको वर्गीकरणका आधारमा भूमिको संरक्षण, व्यवस्थापन र उपयोग गर्न सहयोग मिल्ने नगरपालिकाले जनाएको छ। नक्साका आधारमा कृषि, आवासीय, व्यवसायिक, औद्योगिकलगायतका क्षेत्र निर्धारण गर्न सहज हुनुका साथै योजनाबद्ध सहरीकरण, कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने, उपयोगमा नरहेको भूमिको समुचित प्रयोगको व्यवस्थापनमा नक्साले टेवा पुग्नेमा नगरपालिकाको विश्वास छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।