बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा बिहीबार सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ। नगरपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयका सन्दर्भमा सरोकारवालाहरुसँग सुझाव लिन अन्तरक्रिया आयोजना गरेको हो।
अन्तरक्रियामा विभिन्न राजनीतिक दल, संघ–संस्थाका प्रतिनिधि, विज्ञहरुको सहभागिता रहेको थियो। सहभागीहरुले पूर्वाधार तथा विकासका कामलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न नगरपालिकालाई सुझाव दिएका छन्।
बजेट चारैतिर छर्नुभन्दा देखिनेगरी पूर्णरुपमा सम्पन्न हुनेगरी योजना बनाउनुपर्नेमा जोड दिँदै उनीहरुले बजेटमा शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई विशेष महत्वका साथ समावेश गरिनुपर्ने विचार राखेका थिए। बजेट, नीति तथा कार्यक्रमले भएका सडकहरुको सुधार, विपन्न समुदायको उत्थानमा सहयोग, आयआर्जन र स्वरोजगारलाई प्रोत्साहन, किसानलाई मल, बिऊबिजनमा विशेष सहुलियतजस्ता विषयलाईसमेत सम्बोधन गर्नुपर्ने सुझाव सहभागीहरुको छ।
यस्तै फोहोरमैला व्यवस्थापन, सामूहिक कृषि प्रणाली, स्वास्थ्य बीमा, सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तरमा सुधार, पर्यटन प्रवद्र्धन, खेलकुदलगायतका विषयलाई पनि यथोचित सम्बोधन गर्नुपर्ने सुझाव आएको थियो।
अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख वासुदेव घिमिरेले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई बढी महत्व दिएर बजेट विनियोजन गर्न चाहेको उल्लेख गरे। नगरपालिकाले अघि सारेका विकासका ठूला आयोजनाका बारेमा जानकारी गराउँदै नगरप्रमुख घिमिरेले आगामी बजेटको आकार १ अर्ब १९ करोड हुने प्रक्षेपण गरिएको जानकारी दिए।
उप–प्रमुख जागेश्वरी चौधरीले बजेटलाई सकेसम्म यथार्थ र परिणाममुखी बनाउन खोजिएको बताइन्। यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले गतिशिल दृष्टिकोणका साथ बजेट तथा कार्यक्रम निर्माण गर्न लागिएको जानकारी गराउँदै ‘नो–कष्ट’बाट गर्न सकिने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको उल्लेख गरे।
तिलोत्तमा नगरपालिकाले आगामी असार १ गते नीति तथा कार्यक्रम र असार १० गते नगरसभामा बजेट पेश गर्ने जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।