काठमाडौं– फिल्म ‘हैरान’ शुक्रबारबाट नेपालभर प्रदर्शनमा आएको छ। विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्मले आजबाट ‘सोलो’(एकल) प्रदर्शनको यात्र सुरु गरेको हो।
नेपाली फिल्म बजारमा प्रायः हप्तामा २ देखी ४ वटासम्म फिल्म प्रर्दशनमा आउने भएपनि ‘हैरान’ले भने यसपटक ‘सोलो’ रिलिजको मौका पाएको छ। विपिन कार्की अभिनित फिल्म ‘हरि’को प्रदर्शन मिति जेठ १८ लाई सरेसँगै फिल्मले सोलो रिलिजको मौका पाएको हो।
पछिल्लो समय नेपाली फिल्महरुले उत्कृष्ट व्यापार गर्न असक्षम भइरहँदा ‘हैरान’को व्यापार कस्तो हुने हो त्यसको नतिजा भने केही दिनमा थाहा हुनेनै छ। तर फिल्मका निर्देशक विष्ट भने फिल्म निर्माणमा पनि निकै हैरानी खेपेको र अव प्रदर्शनका क्रममा पनि हल खचाखच भएर हैरान महशुस गर्न पाउनेमा आशावादी छन्।
‘हैरान’मा सरोज खनाल, सागर लम्साल, सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ।
विशेषगरि हास्यरस र एक्सनलाई समिश्रण गरि तयार पारिएको फिल्मलाई दर्शकले मन पराउनेमा फिल्मका कलाकार सागर लम्साल (बले) पनि ढुक्क छन्।
फिल्ममा गम्भीर विस्टको कथा तथा कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द तथा सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत रहेको छ।
शुक्रबारबाट फिल्म नेपालभरका ८० भन्दा बढी हलहरुमा एकसाथ प्रदर्शनमा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।