काठमाडौं– समृद्ध जीवनको सुन्दर सपना सजाएर विदेशिने तर काठको बाकसमा बन्द भएर फर्किने यथार्थमाथि बनेको गीत ‘बोल माया’को म्युजिक भिडियो ‘प्रिमियर’ गरिएको छ। होटेल हिमालय, ललितपुरमा आयोजित एक कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
प्रकाश सपुतको लेखन, संगीत, रचना र म्युजिक भिडियो निर्देशन समेत रहेको गीतबाट चर्चित लोक गायक तथा फिल्म निर्देशक नारायण रायमाझी गायनमा फर्किएका छन्। नेपाली जनजीवनको यथार्थ कथालाई गीतबाट मार्मिक ढंगले प्रस्तुत गरिएकाले आफू गाउन तयार भएको गायक रायमाझीले बताए।
युवा उमेरमै विधवा भएकी महिलाको विलौनालाई गीतमा शान्तिश्री परियारले आवाज दिएकी छिन्। रायमाझी, परियारका साथै गीतमा प्रकाश सपुतको समेत स्वर समेटिएको छ। गायनमा नयाँ प्रयोग समेत गरिएको गीत र त्यसको म्युजिक भिडियोले प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित मन्त्री विष्ट सहित सहभागीका आँखा रसाएका थिए।
विमोचनपछि बोल्दै मन्त्री विष्टले आफू बढी भावुक व्यक्ति भएकाले गीतले आफूलाई निदाउन नदिने प्रतिक्रिया दिए। उनले भने, ‘मलाई यस्ता कुराले गहिरो प्रभाव पार्छन्। यो गीतको म्युजिक भिडियो हेर्दै गर्दा म असाध्यै भावुक बनें। मलाई यसले निदाउन दिनेछैन।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा आफूले यो दिन आउन नदिन भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे। उनले भने, ‘गीतमा समेटिएको यथार्थ मैले देखेको छु। यही दुःखद् दिन दूर गर्न हामी अहिले लागिपरेका छौं।’
गीत रचना बारे गायक सपुत बोल्दै गर्दा धेरैले आँशु थाम्न सकेनन्। आफ्नै आफन्तले भोगेका पीडाहरुलाई गीतमा उतारेको रहस्य उनले कार्यक्रममा खोले। उनले भने, ‘एक जवान युवाको सपना बाकसमा बन्द भएर फर्किएको, एक महिला युवा उमेरमै विधवा भएको र साना नानीहरु टुहुरा भएको दुःख नजिकबाट महशुस गरेको छु। त्यही दुःखलाई गीतमा उतार्ने प्रयास गरेको हुँ।’
कार्यक्रममा गीतको म्युजिक भिडियोमा गरेको जीवन्त अभिनयका लागि अभिनेत्री अञ्जली अधिकारीको तारिफ गरिएको थियो। पृथ्वी इन्टरटेन्मेन्टले निर्माण गरेको म्युजिक भिडियो प्रिमियरमा चर्चित गायकहरु प्रजापति पराजुली, बद्री पंगेनी, पशुपति शर्मालगायतको उपस्थिति रहेको थियो।
हेर्नुस् भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।