बैंग्गलुरु- आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। दुवै इनिङमा गरी ४ सय २२ रन बनेको खेलमा बैंग्लोरले हैदरावादलाई १४ रनले पराजित गरेको हो।
महत्वपूर्ण खेलमा जित हात पारेसँगै बैंग्लोरको प्लेअफ सम्भावना बढेको छ। अन्ति खेलअघि बैंग्लोर १२ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ। चौथो स्थानको मुम्बईसहित छैटौं स्थानको राजस्थान र सातौं स्थानको किंग्स इलावेन पञ्जावको पनि १२-१२ अंक नै छ। अब अन्तिम खेलमा राजस्थानलाई हराए बैंग्लोर प्लेअफमा पुग्नेछ। हैदरावाद र चेन्नई भने यसअघि नै प्लेअफमा पुगिसकेका छन्।
बिहीबार बैंग्लोरले दिएको २ सय १९ रनको पछ्याएको हैदरावादले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ४ रन जोड्यो। अन्तिम ओभरको पहिलो खेलमा हैदरावादका कप्तान केन विलियमसन ८१ रनमा आउट खेल बैंग्लोरको पक्षमा गएको हो। त्यसअघि आक्रामक ब्याटिङ गरेका उनले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। हैदरावादका लागि मनिष पाण्डेले ३८ बलमा नटआउट ६२ रन जोडेको पनि काम लागेन।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा २ सय १८ रन जोड्यो। उसका लागि एबी डी भिलियर्सले ३९ बलमा ६९ रन र मोइन अलीले ३४ बलमा ६५ रन बनाएका थिए। भिलियर्सले १२ चौका र १ छक्का तथा अलीले २ चौका र ६ छक्का प्रहार गरे। कोलिन ग्राण्डहोमले १७ बलमा ४० रनमा जोडेपछि बैंग्लोरले २ सय रन कटाएको थियो। कोलिनले १ चौका र ४ छक्का प्रहार गरे। बलिङतर्फ हैदरावादका रसिद खान ३ विकेट लिए। सिद्धान्त कौलले २ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।