राजनीतिक दलहरु विभाजित हुँदै गर्दा भन्दा दलहरुको बीचमा एकता हुँदा स्वभाविक छ त्यसले लोकतन्त्रलाई बलियो बनाउन योगदान गर्छ। त्यस हिसाबले नेपालका दुइटा कम्युनिस्ट पार्टीहरु एकताबद्ध हुँदै गर्दा नेपाली कांग्रेसका तर्फबाट शुभकामना छ, बधाइ छ। यद्यपि एकताको सन्दर्भमा कतिपय विषयहरुको बारेमा, उहाँहरुले राख्नुपर्ने गम्भीरताको विषयमा हामी सतर्कतापूर्वक उहाँहरुलाई स्मृति गराउन चाहन्छौं। त्यो स्मृति गराउनु हाम्रो कर्तव्य हुन आउँछ।
एकता हुँदै गर्दा सत्ताको दम्भमा परिणत हुन लाग्यो भने त्यो एउटा खतरासिद्ध हुन्छ, लोकतन्त्रका लागि। त्यसकारण उहाँहरुलाई हाम्रो शुभकामना के छ भने, एकता होस्, एकताले सिर्जना बढाओस्, सिर्जनाले सबैलाई विश्वासमा लिन सकोस्। हिंसामा गएका सबैलाई गाँस्न सकोस् र नेपालको कम्युनिस्ट पार्टी यथार्थमा नेपालमा अहिंसाको मार्फत्बाट, संसदीय व्यवस्थाको मार्फत्बाट देशलाई समृद्धि बनाउन दिशामा जान सक्छ भन्ने मान्यता स्थापित गर्न सक्नुहोस् भन्ने हाम्रो कामना छ। त्यो हुन सक्यो भने दुनियाँकै लागि नै एउटा नमूना बन्न सक्छ, त्यो भएर हाम्रो शुभकामना नै छ।
तर, त्यसले दम्भ बढ्यो भने हामी जान्दछौं कि, महाभारतको लामो व्याख्यालाई एक लाइनमा टुंग्याउन सकिन्छ, 'अहंकारको वृक्षमा विनासको फल लाग्छ' भनेर त्यसको निष्कर्ष निकाल्न सकिन्छ। त्यो दिशामा कुनै प्रकारको अहंकार नबढोस् भन्ने उहाँहरुलाई सतर्कतापूर्वक अपिल गराउने भन्ने हुन्छ एउटा।
दोस्रो, उहाँहरुको सहमतिपछिको, एकतापछिको यात्राको प्रष्टताको विषय छ। जस्तो कि, संसदीय व्यवस्थाको पार्थिव शरीरमाथि सर्वहारा वर्गको अधिनायकवाद स्थापना गर्ने सपथ खाएर कमरेड केपीले या कमरेड प्रचण्डले राजनीति सुरु गर्नु भएको थियो। संसदीय व्यवस्थाको प्रधानमन्त्री होउला, यो व्यवस्थाको नेतृत्व गरौंला भन्ने उहाँहरुको सपना थिएन। त्यसैले आज अलग सपना बोकेर, अलग स्कुलिङबाट हुर्किएको व्यक्तित्वहरुले अलग राज्य प्रणालीलाई नेतृत्व गर्दै गर्दा यसलाई परिस्थितिको वाध्यताका रुपमा होइन, मस्थितिको निष्ठाका रुपमा उहाँहरुले यो एकता पक्षलाई ग्रहण गर्न सक्नेतर्फ लानुपर्छ। तर, एकतापछाडि जुन गणितीय या मनोवैज्ञानिक बल प्राप्त हुन्छ त्यसले उहाँहरुलाई शास्त्रीय भड्कावतिर नलैजाओस्।
तेस्रो कुरा, संविधानले 8वाद उन्मुखको व्यवस्था गरेको छ। त्यसको उहाँहरुको अमूर्त ढंगको व्याख्याबाट देशले दुःख पाउँछ, देश अलमलमा पर्छ। उहाँहरुको जुन मान्यता हो, विश्वास हो कम्युनिस्टहरुले भनेजस्तो 8वाद संसारमा के अभ्यास भएका छन् ती अभ्यासहरु हाम्रो नागरिक चाहना, भावना र नेपालले हिँड्न चाहेको बाटो र रोजेको प्रक्रियासँग मेल खाँदैन। त्यसकारण, 8वाद उन्मुखको समयानुकूल दर्शन प्रस्टोक्तिका लागि एकताले आगामी दिनमा उहाँहरुलाई खुलस्त बनाओस् भन्ने कुरा गाँस्नैपर्छ।
चौथो कुरा, राष्ट्रवादको प्रसंग छ। नेपालको राष्ट्रियताको मजबुतीकरणका लागि मित्र राष्ट्रहरुसँग चल्नुपर्ने, कतिपय द्वन्द्वको बेला प्रखर ढंगले अडान लिनुपर्ने, कतिपय बेला मिलेर चल्नुपर्ने, दुईटा ठूला छिमेकीको अर्थतन्त्रबाट नेपालले लाभान्वित हुनलाई गर्नुपर्ने कर्मले हाम्रो राष्ट्रियतालाई बलियो बनउन योगदान गर्ने त्यो एउटा पाटो भयो। यसको अर्को आन्तरिक पाटो के छ भने, नेपाली 8भित्रको अन्तर्द्वन्द्वलाई, 8का भिन्नभिन्न आयामलाई, 8का भिन्नभिन्न मतलाई पनि गाँस्नुपर्नेछ।
मधेशको मुद्दा होला, जनजाति, दलितको मुद्दा होला यो भिन्न-भिन्न मतहरुलाई संविधान संशोधनको प्रक्रियाबाट गाँसेर अगाडि लिएर जान सक्दा र यो संविधानप्रति सबैको अपनत्वको दायरा विस्तार गर्न सक्दा त्यसले नेपाली राष्ट्रवादलाई बलियो बनाउँछ। त्यो दिशामा पनि उहाँहरुको एकतापछाडि उहाँहरुमा कुनै फरक मत, विमति रहनु हुन्न भन्ने लाग्छ। किनभने, हिजो संविधान संशोधनको प्रस्ताव ल्याउँदै गर्दा एमालेले राष्ट्रघात भनेको थियो, त्यही प्रस्ताव हुँदै गर्दा अगाडि सार्दै गर्दा कमरेड प्रचण्डले राष्ट्रघात भन्नु भएको थियो। आज उहाँहरु एक हुँदा अब नेपाली 8लाई गाँस्ने सन्दर्भमा कसरी जानु हुन्छ त? भन्ने कुरा अर्को महत्वपूर्ण प्रश्न छ।
त्यसैगरी, समृद्धिको सन्दर्भको अर्को पाटो पनि छ। उहाँहरुले नेपाली कांग्रेस पार्टीले भनेको, लिएको अर्थनीतिलाई गलत भन्ने अनि अन्ततः सरकारमा जाँदै गर्दा कांग्रेसले बोकेकै अर्थनीतिका केही पपुलिस्ट कार्यक्रम हालेर कम्युनिस्ट प्रधानमन्त्रीहरु या कम्युनिस्ट अर्थमन्त्रीहरुले यात्रालाई अगाडि बढाउनुहुन्थ्यो। अब एकतापछाडि उहाँहरुले अर्थनीतिको सवालमा पनि राख्नुपर्ने प्रस्टता आवश्यक छ। बजेट आउने बेलाकै समय छ, यो बेलामा पनि प्रस्टता राख्न सक्दाखेरि आगामी दिनमा उहाँहरुको यात्रालाई पनि सजिलो गर्छ र उहाँहरुलाई विश्लेषण गर्ने पाटोमा हामीलाई पनि सजिलो हुन्छ।
अर्को कुरा, नेपालको कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिक रुपान्तरण गर्न कमरेड मदन भण्डारीले महत्वपूर्ण योगदान गर्नु भएको थियो। आज जेठ ३ गते उहाँहरुले आफ्ना निर्देशक सिद्धान्तमा मार्क्सवाद-लेनिनवाद भन्दै हुनुहुन्छ। मार्क्सवाद चाहिँ कमरेड मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) भन्दा एक कदम पछाडि हो भन्ने मलाई लाग्छ। मार्क्सवादलाई सिर्जनात्मक प्रयोगमा विकास गरौं भनेर मार्क्सवादभन्दा एक कदम अगाडि जबजलाई उहाँले प्रस्तुत गर्नु भएको थियो।
आज मदन भण्डारीकै निधनको दिन मदन भण्डारीले प्रस्तुत गरेको जबजलाई खोपाको भीमसेन बनाएर मार्क्सवादतर्फ अगाडि फर्किनु भनेको उहाँको सिर्जनशीलतामा ब्रेक लाग्ने अवस्था बन्छ। त्यो चाहिँ मदन भण्डारीको दोस्रो मृत्युको दिन हुन्छ भन्ने मलाई लाग्छ। त्यसैले जबजलाई परिमार्जित गर्ने, परिस्कृत गर्ने, आजको सन्दर्भ बमोजिमको बनाउने कुरामा यो एकताले उहाँहरुलाई योगदान गरोस्, गर्नुपर्छ। उहाँहरुको घरेलु मामिला हो, बाहिरका हामीले धेरै बोल्नु हुन्न, तर त्यो गर्न सक्दा चाहिँ नेपालको कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणलाई बल पुग्ने हुन्छ।
अन्यथा, कुनै दिन जेठ ३ गते भौतिक मृत्यु भएको थियो मदन भण्डारीको। मार्क्सवादतर्फ फर्केर बहुदलीय जनवादलाई खोपाको भीमसेन बनाउने हो भने, मदन भण्डारीको दोस्रो मृत्युको दिन आज हुन्छ। र त्यो चाहिँ मदन भण्डारीको हिजो भौतिक बिदाइ भयो, आज वैचारिक बिदाइको अवस्था आउँछ।
त्यसकारण, यस्ता कतिपय अन्तर्द्वन्द्वलाई हल गरेर एउटा समृद्ध दल बनाउन, आधुनिक दल बनाउन उहाँहरुलाई सफलता मिलोस्। कम्युनिस्ट आन्दोलनको रुपान्तरणलाई अझ घनीभूत बनाउन सक्नुहोस्। अझ विप्लवहरुलाई पनि गाँसेर नेपालको कम्युनिस्ट दललाई एकठाउँ ल्याउन सक्नुहोस्। त्यसले हामी कांग्रेसजनलाई पनि मनोवैज्ञानिक दबाब पर्छ रुपान्तरणका लागि। रुपान्तरित भएर आउने कांग्रेस र संगठित भएर आउने कम्युनिस्ट दलहरुको बीचको प्रतिस्पर्धाले नेपालको लोकतन्त्रलाई समृद्ध बनाउँछ।
कम्युनिस्टहरुको एकता हुँदै गर्दा कांग्रेसले लोकतान्त्रिक पार्टीहरुको ध्रुवीकरणमा लाग्नुपर्छ भन्नेहरु पनि छन्। तर, उहाँहरुको एकताले कांग्रेसलाई अब धेरै फरक पार्दैन। उहाँहरुले एकता गरिहाल्नु भयो भनेर हामीले पनि आत्तिएर अरु दल भेला गर्ने कुरा हुँदैन। जे फरक पर्नुथियो त्यो अस्तिको निर्वाचनमा परिसक्यो। त्यसको परिणामस्वरुप हामी रुपान्तरणको क्रममा छौं। उहाँहरु पनि नागरिक तहमा राख्नु भएका सपनाहरुको व्यावहारिक परीक्षणको चरणमा हुनुहुन्छ। हामी रुपान्तरित भएर प्रतिस्पर्धामा नवीन ढंगले आउने चरणमा छौं।
त्यसकारण उहाँहरुले एकता नभइरहँदा पनि हामी रुपान्तरित हुने चरणबाट भाग्न मिल्दैन थियो, रुपान्तरित हुने दिशामा जानै पर्थ्यो। उहाँहरु एकताबद्ध हुँदै गर्दा पनि हाम्रो पार्टीभित्रको एकतालाई घनीभूत बनाउने, पार्टीभित्रका विषयहरुलाई सहज ढंगले छलफल र बहसमा लैजाने, पार्टीभित्र हामीले द्वन्द्वलाई न्यून गर्दै आफूलाई मजबुत बनाउने कुरा छँदैछ। त्यसैले उहाँहरुको एकता भयो यसले हामीलाई राजनीतिक रुपमा ठूलो गम्भीरता ल्याउँछ भन्ने चाहिँ छैन।
(नेपाल लाइभका जनक पौड्यालले गरेको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।