बागलुङ- हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ। नेपाल वायु सेवा निगमले नयाँ भाडादर रु ५ हजार ६ सय कायम गरेको छ। यसअघि निगमले दुवैतर्फको उडानमा प्रतियात्रु रु ६ हजार ५ सय भाडा लिँदै आएको थियो।
भाडा महँगो भएको गुनासो बढेपछि भाडादर घटाउन एयरलाइन्स कम्पनीलाई दबाब परेको हो। बागलुङ नगरपालिकाले भाडा समायोजनका लागि नागरिक उड्डयन प्राधिकरणसँग माग गर्दै आएको थियो। नगरपालिकाकै विशेष पहलमा बन्द भएको २६ वर्षपछि गत चैतबाट विमानस्थल सञ्चालनमा आएको हो।
नेपाल वायु सेवा निगम र तारा एयरलाइन्सको विमानले हाल सातामा २ पटक उडान भर्दै आएका छन्। ताराको विमानले आइतबार र नेपाल एयरलाइन्सको विमानले बिहीबार उडान भर्दै आएको छ।
नेपाल एयरलाइन्सपछि तारा एयरलाइन्सले पनि भाडा घटाउने विश्वास लिइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। हाल ताराको भाडादर प्रतियात्रु रु ६ हजार ७ सय कायम छ।
विमानस्थल सञ्चालनमा आएपछि बलेवा–काठमाडौँ यात्रा जम्मा ४० मिनेटमा छोटिएको छ। विमानस्थलबाट अत्यावश्यक कामकाजी व्यक्ति र बिरामीले बढी लाभ लिएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।