सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि कर्णाली प्रिमियर लिग (केपिएल) सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन धनगढी क्रिकेट एकेडेमी र टीकापुर क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन्।
धनगढी क्रिकेट एकेडेमीले मध्यपश्चिम क्रिकेट क्लबलाई ४६ रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर एक सय ५६ रन जोडेको थियो। उसका लागि सुनिल धमलाले २६, विपीन रावलले ३९, बसन्तसिंह कार्कीले ३२ रनको योगदान दिए।
मध्यपश्चिमका लागि भरत थापाले ३ तथा भीम धमला, आकाश विष्ट र सिद्धान्त शाहीले समान एकएक विकेट लिए।
एक सय ५७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा आएको मध्यपश्चिमले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर एक सय १० रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान सुवेन्दु पाण्डेले ४० बलमा ५२ रन जोडे। यस्तै राजवीर सिंहले १५, प्रनित थापाले १३, सिद्धान्तराज शाहीले १२ र भरत थापाले ८ रनको योगदान दिए पनि टिमलाई जित दिलाउन सकेनन्।
धनगढीबाट विक्रम ठगुन्नाले ३, सुनिल धमला, पवन कार्की, भुवन कार्की र महेश अधिकारीले एकएक विकेट लिएका थिए। उक्त खेलको म्यान अफ दि म्याच भरतसिंह कार्की भए।
यस्तै आजै बिहान भएको केपिएलको पहिलो खेलमा टीकापुर क्रिकेट क्लबले भेरीगंगा क्रिकेट क्लबलाई एक सय ९ रनको फराकिलो अन्तरले पराजित गर्यो। अजय बिष्टको अलराउण्ड प्रदर्शनमा टीकापुरको फराकिलो जित हात पार्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको टीकापुरले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रनको योगफल तयार पारेको थियो। ओपनर अजय बिष्टले ३४ रनको पारी खेल्ने क्रममा १२ बलमा १ चौका र ४ छक्का प्रहार गरे। यस्तै अयुब चन्दले १९ रन र रवि शाहले १७ रन बनाए। बलिङतर्फ भेरीगङ्गाका तिलक थापा, महेन्द्र विके र विजय बिकेले २/२ विकेट लिए।
जवाफमा १ सय ४५ रनको लक्ष्य पछ्याएको भेरीगङ्गाले ११.४ ओभरमा मात्र ३५ रन बनाउँदा सबै विकेट गुमायो। उसका लोकेन्द्र बिकेले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन। ४ खेलाडी गोल्डेन डकको सिकार भए। भेरीगङ्गालाई सस्तैमा समेट्ने क्रममा टीकापुरका रवि शाह र अनिल बिकेले १०/१० रन खर्चेर समान ३ विकेट लिए भने ललित प्याक्वलले ४ र म्यान अफ द म्याच घोषित अजय बिष्टले १० रन खर्चेर समान २/२ विकेट लिए।
पहिले दिनका दुई वटै खेल १५ ओभरमा घटाएर खेलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।