काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष केपी शर्मा ओलीले न्याय, विकास, सुशासन र समृद्धितर्फको यात्रा मजबुत होस् भन्ने अग्रजहरुको चाहना आज पूरा भएको बताएका छन्।
पार्टी एकीकरण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रसमेत रहेका ओलीले आफूहरुले नयाँ पार्टी बनाएको नभई त्यसलाई एकीकृत गरेको बताए। गुटबन्दी र फुटको कारण जनताले लामो समयसम्म पीडा सहनुपरेको भन्दै उनले थपे, 'अब कम्युनिस्टहरु फुट्न जान्दैनन्। जुट्न मात्रै जान्दछन्।'
मदन-आश्रितलाई श्रद्धाञ्जली व्यक्त गर्दै उनले पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टी बहुमतसहित सरकारमा रहेको देख्न चाहेको उल्लेख गरे। 'उहाँ जीवित हुनुभएको भए खुसीले नाच्नुहुन्थ्यो होला। तर यो देख्न पाउनभएन,' उनले भने।
हिजो बालुवाटारमा भेट्दा आफूभन्दा बढी उत्साहित प्रचण्डलाई देखेको उनको भनाइ छ। 'महाअभियान चलाउन हामी दुई जनाले सल्लाह, विचार विमर्श गरी अगाडि बढ्ने अठोट गरेका हौं,' उनले भने, 'न प्रचण्डले नचाहेको भए पार्टी एकता हुन्थ्यो न मैले नचाहेको भए।'
आफूहरु कुनै रुपमा विलय भएको नभई अन्तर्घुलित भएको ओलीले प्रस्ट पारे। 'हिन्द महासागरमा गएर कोसी, कर्णाली र सेतीको पानी खोजेर हुँदैन,' उनले भने, 'अघिसम्म अर्कै पार्टीका नेता थियौँ अब दुवै पार्टी सिद्धिए। हेर्दाहेर्दे दुवै पार्टी एकअर्कामा बिलाए। दुवै मिसिएर एकिकृत रुपमा आए।'
कम्युनिस्ट आन्दोलनमा अब विन्टर सिजन नै नहुने भन्दै ओलीले पातहरु झर्ने र उजाड हुने अवस्था नआउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।