एजेन्सी– मेघना गुलजारको निर्देशनमा बनेको आलिया भट्ट अभिनित फिल्म ‘राजी’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन ७ करोड ५० लाख तथा दोस्रो दिन ११ करोड २५ लाख भारतीय रुपैयाँको व्यापार गरेको थियो।
प्रदर्शनकाे २ दिनमानै राम्रो व्यापारको संकेत दिएकाे फिल्मले छैटौँ दिनसम्म आइपुग्दा ५५ दशमलब ५ करोड बढीको व्यापार गरिसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
फिल्म निर्माण र प्रचार–प्रसारसहित ४० करोडको लगानीमा निमार्ण भएको 'राजी'मा अभिनेत्री आलिया भट्टको अभिनयलाई समिक्षक र दर्शकले तारिफ गरिरहेका छन्।
फिल्मले ५० करोड बढीको व्यापार गर्नसके हिट लिस्टमा अटाउने भएकाले फिल्म 'राजी' पनि एक हप्तामै हिट लिस्टमा सामेल भएको हो।
फिल्ममा आलिया भट्टका अलावा विक्की कौशल, रजित कपूर, जयदीप अहलावत, अमृता खानविलकर र सोनी राजदान मुख्य भूमिकामा छन्।
फिल्ममा एक अर्को रमाईलो पक्ष पनि समावेस छ। फिल्ममा आलियाको आमाको भूमिका निर्वाह गरेकी सोनी राजदान वास्तविक जीवनमा आलियाकी अामा हुन्।
फिल्ममा आलिया भट्ट एक छोरी, पत्नी र भारतीय जासुसको भूमिकामा देखिएकी छिन्। यस फिल्मको मुख्य कथावस्तु १९७१ मा भारत र पाकिस्तानबीच भएको युद्धमा आधारित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।