काठमाडौं- माओवादी केन्द्रले पार्टी एकता निष्कर्षमा पुगेको बताउँदै त्यसको औपचारिक निर्णय एकता संयोजन समितिले गर्ने जनाएको छ। पार्टी एकताको विषयमा छलफल गर्न बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बिस्तारित बैठकपछि प्रवक्ता पम्फा भुसालले पार्टी एकतामा सबै सहमति जुटेको जानकारी गराइन्।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा ४ घन्टा जति बसेको बैठकमा पार्टी एकताको जिम्मा पाएका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बुधबार बिहान भएको सहमतिबारे छलफल भएको थियो।
बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पार्टी एकता निष्कर्षको चरणमा पुगेको बताएकी हुन्। उनले बिहीबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकले औपचारिक टुंगो लगाउने जानकारी दिइन्।
भुसालले भनिन्, 'हामीले भनेजस्तै सम्मानजनक, न्यायोचित र समानताका आधारमा पार्टी एकता गर्ने कुरामा सहमति भएको छ, त्यसको अन्तिम र औपचारिक निर्णय बिहीबार बस्ने एकता संयोजन समितिको बैठकले गर्नेछ।'
भुसालका अनुसार बिहीबार बिहान बस्ने एकता संयोजन समितिको बैठकले पार्टी एकताको घोषणा गर्न सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।