बजेटमा कार्यान्वयनमुखी कार्यक्रम ल्याउन प्रदेश ५ का मुख्यमन्त्रीलाई सांसदहरुको सुझाव

Nepal Live

बुटवल- प्रदेश ५ का आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले पेश गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ।

४५ जना सांसदले राखेका विचारको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले सरकारले सबैका सुझाव समेटेर नीति कार्यक्रम र बजेट ल्याउने बताए। उनले बजेटमा भौतिक पूर्वाधारले प्राथमिकता पाउने बताए।

‘अहिले हामीले चाहेर वा नचाहेर पनि पूर्वाधार विकासलाई नै प्राथमिकता दिनुपर्नेछ', उनले भने, 'त्यसपछि कृषि, पर्यटन त स्वभावतः आउँछन्।'

उनले कृषिले आम मानिसको जीवनस्तरमा परिवर्तन ल्याउने भएकाले कृषि क्षेत्रलाई पनि प्राथमिकतामै राखेको बताए।

सोमबार प्रदेशसभामा पेश भएको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा ४५ जना सांसदले भाग लिएका थिए। उनीहरुले सरकारले नीति कार्यक्रम र बजेटमा कार्यान्वयन गर्नसक्ने योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

विकास-निर्माणका काममा ठेकेदारहरुले लापरवाही गरेको भन्दै त्यसलाई अनुगमन र नियन्त्रण गर्दै विकास निर्माणको काम समयमै नसके कडा कारबाही गर्ने नीति ल्याउनुपर्ने बताए।

दोस्रो दिनको छलफलमा सांसदहरु दधिराम न्यौपाने, चेतनारायण आचार्य, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, रामजीप्रसाद घिमिरे, गीता थापा, तुलसीप्रसाद चौधरी, धर्मबहादुर लाल श्रीवास्तव, लौटी थारु, तारा जिसी, नारायणप्रसाद आचार्य लगायतले भाग लिएका थिए।

प्रदेशसभाको अर्को बैठक जेठ १६ गते दिउँसो १ बजे बोलाइएको छ।

दीपक घिमिरे

पत्रकार घिमिरे नेपाल लाइभका प्रदेश ५ का संयोजक हुन्

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार